राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नं २ मा सबै निर्विरोध, ३ र ६ मा निर्वाचन हुने

 

काठमाडौँ, १६ माघ – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ का सबै उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश नं ३ र ६ मा भने सबै पदका लागि निर्वाचन हुनेछ ।

निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा निर्वाचित हुने कूल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । जसमध्ये प्रदेश नं १ मा महिला तीन र अन्य तीन गरी छ उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । यस प्रदेशमा अब दलित एक र अपांगता-अल्पसङ्ख्यक एक गरी दुई पदका लागि मात्र निर्वाचन हुने आयोेगले जनाएको छ ।

त्यस्तै प्रदेश नं २ का सबै उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश नं ३ मा आठै पदमा मतदान हुनेछ भने प्रदेश नं ४ मा अपांगता-अल्पसङ्ख्यक एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएकाले बाँकी सात पदका लागि निर्वाचन हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगका अनुसार प्रदेश नं ५ मा महिला तीन पदमा निर्विरोध निर्वाचित हुनुभएकाले बाँकी पाँच पदमा निर्वाचन हुनेछ । प्रदेश नं ६ मा सबै पदमा निर्वाचन हुँदैछ ।

त्यस्तै प्रदेश नं ७ मा महिला तीन र अन्य तीन गरी छ पदमा उम्मेदवार निर्विरोध हुनुभएकाले अब दलित एक र अपांगता-अल्पसङ्ख्यक एक गरी दुई पदमा मात्र निर्वाचन हुने आयोगले जनाएको छ ।

यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले हिजो माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको थियो । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारले निर्वाचन प्रचारप्रसार शुरु गर्नुभएको छ । आयोगका अनुसार अब सातै प्रदेशमा गरी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

राष्ट्रिय सभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ र सातै प्रदेशका प्रदेशसभा सदस्य ५५० गरी जम्मा दुई हजार ५६ जना मतदाताले मताधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभा स्थायी सदन हुनेछ । राष्ट्रिय सभाको पदावधि छ वर्षको हुनेछ, तर यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ ।

धारा ८६ अनुसार राष्ट्रियसभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ गरी निर्वाचित ५६ जना रहन्छन् ।

त्यस्तै सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीन गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता छन् ।

संविधानअनुसार संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक छ । त्यसमध्ये प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ ।

– भीष्मराज ओझा/रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com