लण्डन । नेपाल सरकारले नेपाल लेखामान बोर्डको अध्यक्षमा एफसीए प्रकाशजंग थापालाई नियुक्त गरेको छ। दसैं अघि अर्थमन्त्री जनार्दन शर्माले थापालाई बोर्डको अध्यक्षमा नियुक्त गरेका हुन्।
थापा लेखा परीक्षकहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्व अध्यक्ष हुन्। थापा अष्ट्रेलियामा झण्डै एक दशक सीए फर्म चलाएर नेपालमा फर्किएका हुन्। उनीसँग विदेशको एक्सपोजर समेत रहेकाले सरकारले बोर्डमा ल्याएको हो।
थापाकै पालामा आइक्यान र अस्ट्रेलिया न्युजिल्यान्डको आधिकारिक चार्टड एकाउटेन्ट्स सीए अस्ट्रेलिया, न्युजिल्यान्ससँग समेत सम्झौता भएको थियो। तेस्तै बेलायतमा पनि सिआईपिएफ़ए (Chartered Institute of Public Finance and Accountancy) संग सम्झौता भएको थियो। आइक्यानको अन्तरास्ट्रिय च्याप्टर अस्ट्रेलिया र अमेरिकामा थापाकै कार्यकालमा स्थापना भएको थियो।
यो सम्झौतासँगै तीन महिनाको एउटा फाइनान्सिङ रिर्पोट पढेर परीक्षा दिएपछि अस्ट्रेलियाले मान्यता दिन थालेको छ। सम्झौता अघि नेपालबाट सीए पढेर आएकाले कामका लागि अष्ट्रेलियाको कोर्ष पढ्नुपर्ने बाध्यता थियो।
बोर्ड के हो ?
लेखामान बोर्ड स्वायत निकाय हो। सन् २००३मा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुसार सरकारले स्थापना गरेको हो।
यो संस्थाले नेपालका लागि वित्तीय विवरण तयार पार्दा अपनाउनुपर्ने लेखाका सिद्धान्त तथा मानहरु तयार गर्छ। संस्थाको प्रमुख काम भनेको अन्तर्राष्ट्रिय वित्तीय प्रस्तुतीकरण मानहरुसँग मेल खाने गरी नेपालमा लागु गर्नु हो।
सन् २००७मा सरकारले सार्वजनिक संस्थाको समेत आवश्यक लेखामान तयार पार्ने जिम्मा यो संस्थालाई दिएको छ।