लण्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुको छाता संगठन नेप्लिज नर्सिङ एसोसियसन यूकेको अध्यक्षमा सुनिता गौतम निर्वाचित भएकी छिन् । सस्थाको भर्चुअल रुपमा सम्पन्न भएको साधारण सभाले एशोसिएसनको सातौं कार्यसमितिको अध्यक्षमा गौतमलाई चयन गरेको हो ।
२००४ मा बेलायत आएसँगै नर्सिङ पेशामा आवद्ध भएकी गौतमलाई शनिवार सम्पन्न भएको एसोसियशनको भेलाले सर्वसम्मतीले अध्यक्षमा चयन गरेको हो । एशोसिएसनका अध्यक्ष विनोदविकास सिंखडा रहेको छैठौं कार्यसमितिको पूर्ण काल नोभेम्बर २०२० सकिए पनि कोरोनाको कारणले लगाएको प्रतिबन्धले ६ महिना थप गरिएको थियो ।
२००९ मा एसोसियसनमा आवद्ध भएकी गौतम सदस्य, सचिब, उपाध्यक्ष हुँदै अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएकी हुन् । गौतम डरेन्ट भ्याली अस्पतालमा सिनियर नर्सको रुपमा कार्यरत छिन् । डानफर्ड नेप्लिज सोसाइटीको सांस्कृति संयोजक समेत रहेकी गौतम बेलायतको नेपाली समुदायमा परिचित एक कोरियोग्राफर समेत हुन् ।
नयाँ नेतृत्वको लागि संघकी पूर्वअध्यक्ष प्रसुना कंडेलको अध्यक्षतामा संघका पूर्वअध्यक्षहरु अजिता सिम्खडा, बासु लामिछाने, सुशीला कार्की र कार्यसमिती सदस्य टुका क्षेत्री सम्मिलित एक समितिले कार्य गरेको थियो ।
अध्यक्ष निर्वाचित भएकी गौतमलाई एसोसियसनकी सल्लाहकार प्रसुना कंडेलले कार्यकाल सफलताको कामना गर्दै बधाई ज्ञापन गरेकी छिन् ।