गमगढी गमक्क छ
मुगु कर्णालीको दुधिलो प्रवाह
अनन्तदेखि अनन्तसम्म
एकनास र एकसुरे संगीत सुसाउदै बगिरहेको छ ।
तलबाट खै कसले
बाँसुरीको मधुरो धुन बजाइरहेको छ
पारिपट्टि झुपुक्क बस्ती
गाढा रङका पहाडका तरेलीहरू
कुहिरोको थेग्ले सिरकमुनि
अझै सुतिरहेका छन् निःशब्द ।
पहाड आफ्ना तरेलीहरूमा
मान्छेहरूका लागि
कोदो, मकै, तरकारी, सागपात र स्याऊ फलाइरहेको छ ।
धूपी र उत्तीसका बोटहरूले
कान्ला, भिर र पाखामा अडिएर
पहाडलाई पहिरोबाट बचाइरहेका छन्,
पहिरोको घाउलाई घाँस उम्रेर
बिस्तारै निको पार्ने प्रयास गर्दै छन्।
मानिसका चञ्चल चालहरूसँग बेखवर
पहाडका थुम्काहरू आकास छुन खोज्दै
कुहिरो र बादलसँग ईख राखेर गजधुम्म बसेका बस्यै छन् ।
बुद्धिमान् प्राणीमा गनिएको मान्छेले नै
पहाडको संवेदनशीलतालाई ख्यालै नगरी
तालिम र अनुभवविहिन नक्कली डाक्टरले जस्तै
जथाभावी खोतलेर घाइते बनाएको छ ।
पहाडका शरीरभरि धर्सा र पहिरोका घाउहरू देखिन्छन् ।
गाउँ अझै उठेको छैन
मान्छे भन्दा चनाखा छन् चरीहरू
जो मान्छेभन्दा पहिल्यै उठेर
बिहानीको गीत गाइरहेका छन्
पखेटा फट्फटाउँदै यताउता उडिरहेका छन् ।
जब बिहानी चढ्दै जान्छ
खच्चरको घाँटीको घण्टीको टङ्टङ् आवाज,
मोटरको घ्यार्रघुर्र, एफ एम का सिग्नेचर टोन
अनि निराशाजनक समाचारका लम्बेतान कभरेज
बजारको कल्याङमल्याङ र अस्वस्थकर जीवनचर्यासँगै
गमगढी मान्छेकै कारण अशान्त, अस्वस्थ र कमजोर देखिन्छ ।
तर जव छायाँनाथ डाँडामाथिबाट घामका किरण छरिन्छन्
कुहिरो राराको जङ्गल तर्फ सर्दै जान्छ।
पहाडका तरेलीहरू उज्याला र सुन्दर देखिन्छन्,
गमगढीको अनुहार उज्यालोले धपक्क बल्छ
दिगो समृद्धिको मीठो सपनाबाट झल्यास्स ब्युझेर !!
रचना: प्रेम भट्टराई ,उदयपुर (Bhattaraipk67@gmail.com)