काेभिडपछि आन्तरिक पर्यटन प्रवर्धनका लागि समर्पित गीत-
झ्याउरे भाका
घुम्न जाऊँ साथी हो
घुम्न निस्कौँ न,
रमाइलो प्रकृतिसँगै जिस्कौँ न ।
ताप्लेजुङको पाथिभरा, सोलुखुम्बु नाम्चे,
रसुवाको गोसाइकुण्ड, मनाङको च्याम्चे,
मुस्ताङको मुक्तिनाथ, लेते, कागबेनी,
थोराङ्लापास, लोमन्थाङ, जोमसोम छ नि ।
घुम्न…
अन्नपूर्ण घले गाउँ, गण्डकीको तीर,
कति राम्रा गाउँबेसी, अक्कर र भिर,
होमस्टे फूलमाला, मीठा परिकार,
पर्यटक घुम्न फिर्न, आउछन् बारम्बार ।
घुम्न …
प्यूठानको स्वर्गद्वारी, रोल्पा लिवाङ पश्चिम,
रुकुमको मुसिकोटमा मुसी रानी बस्थिन्,
जाजरकोट खलङ्गामा न्याउली रून्छ साँझ,
बझाङ जिल्ला चैनपुर, लेक सतबाँझ ।
घुम्न…
सुर्खेतको बुलबुल, काँक्रे, मुगु रारा ताल
कैलालीको घोडाघोडी, बर्दियाको बाघ
कञ्चनपुर साँघु लामो, चादनी दोधारा
दार्चुलाको लिपुलेक, घुमौ नेपाल सारा ।
घुम्न जाऊँ साथी हो
घुम्न निस्कौँ न,
रमाइलो प्रकृतिसँगै जिस्कौँ न ।
(रचना: प्रेम भट्टराई, उदयपुर )