लण्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले पोर्चुगलमा नक्कली हवाई टिकट बेच्ने सङ्घका पोर्चुगलका एनसीसी कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई साधारण सदस्य समेत नरहने गरि बर्खास्त गरेको छ । सङ्घको २ दिन अघि बसेको सचिबालय बैठकले नेपाली समुदायलाई नक्कली हवाई टिकट बिक्रि गर्ने कुँवरलाइ एनआरएनएबाट निस्कासन गरेको हो।
सम्भवत: एनआरएनएले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको यो पहिलो घटना हो। बैठकले नक्क्कली टिकट बेची अलपत्र पारेका नेपालीहरुको रकम नेपाल वा पोर्तुगलबाटनै कानुनी कारबाही गरि असुल उपर गर्ने समेत निर्णय गरेको छ। त्यसका लागि युरोप संयोजक नारायण आचार्यको संयोजकत्वमा युरोपकै ३ जना उप संयोजकहरु सदस्य रहेको समिति समेत गठन गरेको छ।
संघले पिडितहरुलाई केहि समय धैर्य गर्न समेत अनुरोध गरेको छ। यस अघि नै उक्त नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पोर्तुगलको एनसीसीले उक्त पदबाट निलम्बन गरेको थियो।
पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा तत्कालीन एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको थियो।
फिर्ता भएका सेवाग्राहीहरु गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरु पीडितको आवाज सुन्न जम्मा भएका थिए । फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब रु ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल बस्दै आउनुभएका पीडित विजय धिमालले बताउनुभयो ।
सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको थियो । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको बताउदै आएका छन् । पोर्चुगलमा अवस्थित नेपाली सङ्घ सङ्गठनहरुले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन् ।