लण्डन । बेलायतमा हुँदै गरेकाे राष्ट्रिय जनगणनामा सहभागी स्वयंसेवक युवा तथा समाजका अगुवाहरुबीच आफ्नो अनुभव साटासाट गरि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद, जनगणना अभियान समितिकी युथ कोर्डिनेटर अहिल्या कुँवरको पहलमा बुधबार बेलुका भएको भर्चुअल कार्यक्रममा सहभागीहरुले हालसम्म प्राप्त अनुभव, असजिला पक्षहरु र सामना गर्न परेका समस्याहरुका बारेमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा एनआरएनए इङल्याण्डका अध्यक्ष दीपक श्रेष्ठ, अंकित ढकाल, गणेश खड्का, डमरकाजी गुरुङ, धन गुरुङ, लक्ष्मण गुरुङ, विन्दुमाया गुरुङ, दिपेन सिटौला, अशोक गुरुङ, शेर पुन, सुलभ पौडेल, लक्ष्मी, आनन्द धरेल, बालकृष्ण भूषाल, हरि भट्टराई, श्रीकृत वाग्ले, जीवन सेन, सुदीप तिवारी, अन्जु खड्का, हेम गुरुङ, रेनुका श्रेष्ठ, प्रशान्त कडेल, ह्यारी गुरुङ लगायतले आफूले भोगेका समस्या र जनगणना बारेको अनुभव बाँडेका थिए ।
कार्यक्रममा बोल्दै सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेका डा. कृष्ण अधिकारीले बेलायतको राष्ट्रिय जनगणना नेपालीहरुका लागि एकता प्रदर्शन गर्ने, एकआपसमा भेट्ने अवसर, समुदायको सशक्तिकरणको अवसरका रुपमा उपयोग भएको बताए । उनले बेलायतमा नेपालीका लागि अलग जातिय पहिचान बनाउन जनगणनामा उल्लेख्य संख्याका साथै त्यसपछि पनि निरन्तर अभियान हुन पर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले बेलायतका नेपाली किशोर/युवा र प्रौढहरुमा जनगणनाको फाराम भराउन समस्या रहेको निचोड निकालेका थिए ।यद्यपि अनलाइन माध्यमबाट फाराम भर्ना धेरै नेपालीहरुलाई समस्या भएको र सक्दो रुपमा आफूहरुले सहयोग पुरयाउंदै आएको सहभागीहरुले बताएका थिए ।
अहिले जनगणना फाराममा इथ्नीक ग्रुप र मुख्य भाषामा ‘नेपाली’ लेख्न आव्हानसहित बेलायतको नेपाली समुदायमा अभियान नै चलिरहेको छ ।