लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले पूर्व गोर्खाहरुको सम्मानमा एक गोष्ठीको आयोजना गर्ने भएको छ । ७०औं प्रजातन्त्र दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्ने भएको हो।
जनसम्पर्क समिति बेलायतका कार्यवाहक सभापति महेश कुमार दाहालले ७०औं प्रजातन्त्र दिवस नेपालमा र विश्वभरि नेपालीहरुले मनाइरहँदा बेलायतमा पनि यस कार्यक्रमलाई सफल पारौं भन्दै पूर्व गोर्खाहरु, सेवारत गोर्खाहरु र बेलायतवासी नेपालीहरुलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।
भर्चुअल रुपमा आयोजना हुने सो कार्यक्रममा पूर्व गोर्खा र सेवारत गोर्खा सैनिकहरुलाई आमन्त्रण गरिएको कुरा एनपीसीसी यूकेका उपसभापति तथा एनपीसीसी यूके भूतपूर्व गोर्खा बिभागका प्रमुख तर्क जंग गुरुङले बताए ।
यहि फेब्रुवरी २0 शनिवार हुने उक्त कार्यक्रमको विषय “विक्रम सम्वत २००७ सालको जनक्रान्ति र प्रजातन्त्रमा पूर्व गोर्खा सैनिकहरुको भूमिका” रहेको छ । जस अनुसार १०४-बर्षे जहानियाँ राणा शासनको समाप्तिका लागि थालिएको मुक्ति आन्दोलन, २००७ सालको सशस्त्र क्रान्तिमा पूर्व गोर्खा सैनिकहरुको युद्द मोर्चा, र उनीहरुले खेलेको निर्णायक भूमिकाको बारेमा खोजमुलक प्रस्तुतिहरु हुनेछन् ।
शनिवार बिहान ११ बजेदेखि १ बजेसम्मको लागि तय भएको छ भने कार्यक्रमको आयोजना एनपीसीसी यूकेको केण्ट क्षेत्रीय समितिले संयोजन गरिरहेको छ ।
“यो कार्यक्रम २००७ सालको क्रान्तिका मुक्ति सेनाहरुप्रति समर्पित हो; वर्तमानमा देशविदेशमा रहेका ज्युँदा गोर्खाहरुप्रतिको सम्मान हो। ” केण्ट क्षेत्रीय समितिका सभापति किरण राईले भने – “नयाँ पुस्ताले इतिहास भुल्न लागे जस्तो अवस्थामा यस कार्यक्रमले हामीलाई इतिहासको स्मरण गराउनेछ र प्रजातन्त्र प्राप्तिका लागि पुर्खाहरुले गरेको योगदानको कदर गर्न सिकाउने छ । ” सभापति राई आफैं पनि पूर्व गोर्खा सैनिक हुन् ।