काठमाडौँ। नेपाल पत्रकार महासंघ, यूरोप शाखाको अधिवेशन रोक्न माग गर्दै महासंघको केन्द्रीय कार्यालयमा उजुरी परेको छ।
महासंघका अध्यक्ष गोविन्द आचार्यलाई युरोप शाखाका कार्यवाहक अध्यक्ष डिल्लीराम अम्माईं र महासचिव योगेन्द्र मिलन छन्त्यालको नाममा शाखाका बहुमत सदस्यद्वारा लेखिएको भनिएको पत्रमा अध्यक्ष केजीन राईले यही फेब्रुअरी २० का लागि तय गरेको शाखा अधिवेशन अवैध रहेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । पत्रमा एकपक्षीय रुपमा अधिवेशन आह्वान गरिएको आरोप लगाइएको छ।
शाखामा देखिएका विवाद समाधान नभएसम्म राईको नेतृत्वमा हुने कुनै पनि गतिविधि अमान्य हुने बताएका छन् । सदस्यताको टुंगो लगाई प्रक्रिया पूरा गरेर मात्रै अधिवेशन आह्वान हुनुपर्ने भन्दै उनीहरुले अधिवेशन गर्नु भन्दा पहिले राईले संस्थाका नाममा गरेको अनियमितताको छानबिन हुनुपर्ने माग गरेका छन् ।
केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी केन्द्रीय कार्यालयलाई पठाइएको पत्रमा यसअघि नै बहुमत सदस्यहरुले निर्णय गरी केन्द्रमा पठाएको पत्रका बारेमा ध्यान दिन आग्रह गरिएको छ ।
संस्थाको नाममा राईले गरेको अनियमितता, संस्थाको लोगोको दुरुपयोग गरेको, महासचिवकै नक्कली हस्ताक्षर गरेको, सम्बन्धित सदस्यको सहमति विना गरिएको सदस्यता स्थानान्तरण लगायतका मुद्दाको छानबिन गरी टुंगो लगाउन पनि पत्रमा माग गरिएको छ ।
आन्तरिक छानबिन नै नगरी जिम्मेवारीबाट नै हटाइएका व्यक्तिले एकपक्षीय रुपमा आह्वान गरेको अधिवेशन मान्य नहुने भन्दै सहमतिका आधारमा सबैलाई मान्य हुने गरी अधिवेशनको मिति तय गर्न पनि माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ युरोपमा दुइ कार्यकाल पुरा गरिसकेका अध्यक्ष केजिन राईले तेश्रो पटक पनि अध्यक्ष बन्ने जनाए पछि महासंघका सदस्यहरुले विरोध गरेका हुन् ।
नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) परिच्छेद ५, दफा १६.७ मा लेखिएको छ: महासंघका जुनसुकै तहका पदाधिकारीहरु लगातार दुइ पटक भन्दा बढी सोहि पदमा रहने गरी उम्मेदवार हुन पाउने छैनन।
राईले यही फेब्रुअरी २० तारिखका दिन अधिवेशन आयोजना गर्ने भनि मिति तोक्नुका साथै पटक पटक विवादमा आएका एनआरएनएको गुटगत राजनीतिमा रमाउने बेलायत निवासी चिरन शर्मालाइ केन्द्रिय प्रतिनिधिको रुपमा ल्याउन सफल भएका आरोप छ। राईमाथि संस्थाभित्र आफ्नै कार्यसमितिका साथीहरुलाई विधान विपरित निस्काशन गरेको आरोप लागेको छ। राईले अधिवेशन गरी तेश्रो पटक संस्थाको अध्यक्ष बन्ने बताउंदै गरेका छन्।