काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको छ। मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि दुईहजार बाट घटाएर एक हजार मात्र पुर्याएको छ । अबदेखि कोरोना परिक्षणको शुल्क सरकारी तथा नीजि प्रयोगशालामा एकहजार तिर्दा हुन्छ । यसअघि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरुको हकमा बुधबारबाट १० दिनसम्मको मात्रै सोधभर्ना गर्नेछ ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा बसेको आइसिएस कमाण्ड बैठकले कोरोनाको उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रिया समेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो । कोरोना भाइरस विरुद्धको दोस्रो अभियान अन्र्तगत बुधबार २६९ जना पत्रकार र १४० जना कुटनीतिक नियोगका कर्मचारीहरुले कोरोना बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिभिल अस्पतालमा २२७ जना पुरुष र ४२ जना महिला गरी कुल २६९ जना पत्रकारहरुले खोप लगाएका छन् ।
यस्तै बुधबार त्रिवि शिक्षण अस्पतालमा १४० जना कुटनीतिक नियोगका कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएकाछन् । यसअघि सोमबार र मंगलबार क्रमश २२६ र ३२० जना पत्रकारहरुले कोरोना विरुद्धको खोप लगाएका थिए । परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. झलक गौतमले युएन एजेन्सीका लागि तोकिएको पाटन अस्पतालमा पहिलो दिन आठ जनाले कोरोना खोप लगाएका थिए । हालसम्म पाटन अस्पतलामभा ११ जनाले मात्र खोप लगाएका छन् ।
सरकारले पहिलो चरणमा फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी तथा अन्य सहयोगीहरुलाई खोप लगाएपछि दोस्रो चरणमा पत्रकार,युएन एजेन्सीका कर्मचारी,कुटनीतिक नियोगका कर्मचारी,दुतावासका कर्मचारीहरुलाई खोप लगाउन सुरु गरेको हो । दोस्रो चरणको अभियान यो सहित शुन्य मृत्यु भएको तेस्रो पटक हो । नेपालमा हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ ।