लण्डन । विश्वमै चर्चित कीर्तिमानी पर्बतारोहि पूर्व गोर्खा सैनिक निर्मल पुर्जाले जाडोको मौसममा पनि विश्वको दोस्रो सर्वोच शिखर ‘केटु’ हिमालको आरोहण गरी अर्को विश्व कीर्तिमान बनाएका छन् । जाडो मौसममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमा कायम भएको भए पनि माउण्ट के २ भने यस अघि कसैले पनि माउण्ट केटु अरोहण गर्न सकेका थिएनन् । पाकिस्तानमा अबस्थित केटु उनको टोलीले शनिबार साँझ स्थानीय समयअनुसार ५ बजे सफलतापूर्वक आरोहण गरेका हुन् ।
पुर्जा सहित सो टोलीमा दश नेपालीहरु मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका थिए । आरोहण दलमा ती सबै सदस्य नेपाली रहेका छन् ।
म्याग्दीमा जन्मिएका निर्मल पुर्जा पूर्व गोरखा सैनिक हुन् । उनी गोरखा सैन्यपछि बेलायतको विशेष सेनामा काम गरेका थिए । त्यसपछि पर्वतारोहणमा लाग्न उनले बेलायती सेनाको सो आकर्षक करियर नै त्यागेका थिए ।
उनले यसअघि आठ हजार मिटर अग्ला सबै हिमाल छ महिना छ दिनमा आरोहण गरेर विश्व रेकर्ड कायम गरिसकेका छन् । यसबाहेक पनि उनको पर्वतारोहणमा धेरै विश्व रेकर्ड छन् ।
पर्वतारोहणमा उनको विशेष दक्षताका कारण एसिएन अल्पाइन एसोसिएसनले उनलाई शेर्पा अफ द इयर उपाधिले समेत सम्मान गरिसकेको छ । आरोहणपछि सामाजिक संजालमा ‘असम्भवलाई सम्भव’ बनाइएको र नेपालको लागि समेत इतिहास निर्माण गरिएको प्रतिक्रिया दिएका छन् ।