अक्सफोर्डको भारतमा उत्पादित 'कोभिशील्ड' खोपलाई नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति

काठमाडौँ ।अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको कोरोनाभाइरसविरुद्धको खोपले नेपालमा पनि आपत्कालीन प्रयोगको अनुमति पाएको छ। उक्त खोपलाई भारतमा सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरिरहेको छ। नेपालले पनि भारतमा सीरमद्वारा उत्पादित ‘कोभिशील्ड’ नामक औषधिलाई आयात गरी आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो।

औषधि व्यवस्था विभागले शुक्रवार जारी गरेको वक्तव्यमा शुक्रवारको “विभागीय निर्णयअनुसार” उक्त खोपलाई “आपत्कालीन प्रयोगका लागि सशर्त अनुमति” दिइएको उल्लेख छ।

औषधि व्यवस्था विभागले बुधवार मात्र कोभिड-१९ को खोप दर्ताका लागि आयातकर्ताहरूलाई आह्वान गरेको थियो। उक्त आह्वानअनुसार हालसम्म तीनवटा निवेदन परेको तर तत्काल आवश्यक मापदण्डहरू पूरा गर्नेमा सीरमको खोप मात्र भएकाले उसैले पहिलो अनुमति पाएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उनले बीबीसीसँग भने, “अन्य निवेदनहरूबारे पनि हामी क्रमश: निर्णय गर्दैँ जानेछौँ। यो एउटाले मात्र अनुमति पायो भन्ने होइन।” उनका अनुसार ‘हुकम डिस्ट्रिब्युटर एन्ड लजेस्टिक प्रालि’ले नेपालमा अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने अनुमति पाएको हो।

विभागले उक्त खोपलाई नेपालमा प्रयोगको अनुमति दिनका लागि अन्तर्राष्ट्रिय मान्यतालाई हेरेको केसीले बताए। उनले भने, “यसको उत्पादन भएको देशमा र अन्यत्र पनि पाएको अनुमतिलाई हामीले हेरेका छौँ।”

उक्त खोपले यूकेसहित भारतमा पनि आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ। केसीका अनुसार नेपालले हालै मात्र औषधि ऐनलाई अध्यादेशमार्फत् संशोधन गरेर आपत्कालीन अवस्थामा प्रयोग गर्न दिने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार उक्त औषधिले अनुमति पाएको हो।

विभागले हेरेको अर्को मुख्य आधार भनेको नेपालको स्वास्थ्य पूर्वाधार पनि रहेको उनले बताए।

केसीले भने, “धेरै चिसोमा भण्डारण गर्नुपर्ने हाम्रोमा उपयुक्त हुँदैन। तर यो दुई देखि आठ डिग्री सेल्सीअसमा भण्डारण गर्न सक्ने भएकाले हाम्रो आपूर्ति प्रणालीमा यसलाई प्रयोग गर्न सकिन्छ। त्यसैले यसलाई अनुमति दिइएको हो।”

अन्य कतिपय खोपहरूलाई उच्च चिसोमा राख्नुपर्ने अवस्था छ। तर यो खोप भने अन्य खोपहरू भण्डारणकै पूर्वाधारमा पनि भण्डारण गर्न सकिने वैज्ञानिकहरूले बताउँदै आएका छन्।

अन्य दुई खोपको पनि निवेदन

केसीका अनुसार अन्य दुई खोप आयात गर्न चाहनेहरूले पनि निवेदन दिएका छन्। त्यसमा चीनको ‘सिनो फर्मा’ले विकास गरेको र भारतको भारत बायोटेकको ‘कोभ्याक्सीन’ रहेका छन्।

सिनो फर्माका लागि थप कागजपत्र पेस गर्न भनिएको र भारतको खोपको प्रमाणपत्रहरूको अध्ययन भइरहेको उनले बताए। उनले भने, “यदि उहाँहरूले पनि सबै कागजपत्र पूरा गर्नुभयो भने अनुमति पाइहाल्नुहुन्छ।”

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com