माघे संक्रान्ति र गोरु जुधाइ प्रतियोगिता

काठमाडौं।  आदिवासी थारु समुदायले माघी महोत्सवमा हर्षोलासका साथ मनाएका छन् । सांस्कृतिक पहिरणसहित उपत्यकाका विभिन्न स्थानमा मौलिक खाना खाएर यस पर्वलाई मनाएका हुन् ।कोभिड १९ का कारणले विगतमा एकै थलोमा सामूहिक रुपमा मनाउँदै आएको यस पर्व राजधानी काठमाडौंमा औपचारिक रुपमा सिमित भएको छ ।

उपत्यकामा बसोबास गर्ने थारु समुदायले कोभिड १९ का कारण यस पटक टुँडीखेलमा माघी महोत्सव गर्न पाएनन् । महोत्सवलाई निरन्तरता दिन आज माघीको अवसरमा सानो हलभित्र कार्यक्रम गरे । कोभिड १९ नियन्त्रण भएमा आउने साल पुनः भव्य कार्यक्रम गर्ने आशा बाँड्दै शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न गरेका छन् ।

अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाकक्षमा महोत्सवलाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । यद्यपि आफू माघीको कार्यक्रममा जिल्ला भएकाले उपत्यकामा रहेका साथीहरुले त्यसको व्यवस्थापन गर्नुभएको उहाँले बताउनुभयो ।

“कोभिड १९ का कारण यसपाली महोत्सव टुँडीखेलमा गर्न पाइएन, नियन्त्रण भयो भने आउने साल पुनः भव्य कार्यक्रम गरेर मनाउँला” उहाँले भन्नुभयो । त्यसैगरी नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद थारुले यसपालीको महोत्सव फिका भए पनि एकै ठाउँमा रामरमाइलो गर्न सानै भएपनि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । “उपत्यकामा बसोबास गर्ने थारु समुदायका प्रतिनिधिलाई आज विदाको दिन रमाइलो र शुभकामना आदानप्रदानका लागि कार्यक्रमलाई निरन्तरता दिएका हौं” थारुले भन्नुभयो ।

यसैबीच राजधानी काठमाडौं नजिकैका जिल्लाहरुमा माघे संक्रान्तिमा गोरु जुधाएर ‘गोरुजुधाइ प्रदर्शनी’ तथा माघे संक्रान्ति मेला मनाइएको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका १४ स्थित धुँवाकोटमा माघे सक्रान्तिको दिन १८ हल गोरु जुधाइयो भने जिल्लाको खाल्टेमा १० हल गोरु जुधाइएको छ । एक दुई हल गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाउने पुरानो चलनलाई व्यवस्थित बनाउँदै विगत केही वर्ष देखि गोरु जुधाउने मेलाका रुपमा माघे संक्रान्ति मनाउन थालिएको छ ।

आन्तरिक पर्यटन विकासमा यस पर्वलाई अगाडि बढाउने उद्धेश्यकले गोरु जुधाउने पर्व गरिएको धुवाँकोटका आयोजक संस्था संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका संयोजक शिवकुमार श्रेष्ठ बताउनु हुन्छ । जिल्लाको मैदी, ढोला, खरी लगायतका स्थानमा पनि गोरु जुधाएर भव्यताका साथ माघे संक्रान्ति पर्व मनाइएको छ ।

उता रसुवामा पनि गोरुजुधाइ प्रदर्शनी तथा माघे संक्रान्ति मेला सम्पन्न भएको छ । यसपटक बेत्रावतीको ढांडेबगर मैदानमा १० वटा गोरुले आफ्नो क्षमताको प्रदर्शनी गरी सहभागीलाई मनोरञ्जन प्रदान गरे । जित्ने गोरुधनीलाइ आयोजक गोसाइँकुण्ड युवा क्लबको तर्फबाट किसानहरुको हौसला स्वरुप जनही ५ हजार रुपियाँ हार्ने गोरुका किसानले चार हजार रुपियाँ पाएका थिए ।

कोरोना भाइरसको कुनै पर्वाह नगरी आसपसका क्षेत्रबाट हजारौं दर्शकहरू गोरुजुदाइ हेर्न बेत्रावती झरेका थिए । दर्शकहरू पोहोर सालको भन्दा निकै कम उपस्थिति देखिन्थ्यो । क्लबले माघे संन्क्रान्ति मेलाका अवसरका बेला पारी आज बेत्रावती नुवाकोट तर्फका ६० वर्ष उमेर कटेका २४ जना बृद्धअवश्थाका बृद्धाहरुलाइ जाडोको बेला न्यानोकपडा स्वरुप सिरक(कम्बल बितरण समेत गरेका थिए । आजै क्लबले नुवाकोट ब्लडबैंकको सहयोगमा रक्तदान कार्यक्रम पनि राखेको थियो । उक्त कार्यक्रममा १९ जना रक्तदान गरेका स्थानीय गणेश श्रेष्ठले बताउनुभयो ।

परापुर्व कालमा माघे संक्रान्तिका दिन बेत्रावतीका स्थानीय बासिन्दाहरुले खेतका गह्राहरुमा बिहानको घ्यू चाकु, तरुल, सेल लगायतका अन्य भोजका परिकार बनाइ खाने आफ्नो थलोमा पालिएका बलिया बहर गोरुहरुलाइ फाँटमा मनोरञ्जनकालागी गोरु जुधाउने चलन थियो । त्यही साँस्कृतिक परम्परालाइ विगत२०६० सालदेखि स्थानीय गोसाइँकुण्ड युवा क्लबले ब्यवस्थापन गरी मेलाको रुपमा कार्यक्रमको आयोजना गर्दै आइरहेको छ !

झन्डै १० रोपनीको ठूलो चौर चारैतिबाट मानिसले घेरा हालेका छन् । मानिसको गोलो घेराभित्र घमासान लडाइँ हुदै छ । कहिले एउटाले पछार्ने, कहिले अर्कोले । हेर्ने दर्शक रमाइलो मानेर चिच्याउँदै छन् । हँुदाहुँदै एउटा भाग्यो, अर्को विजयी घोषित भयो ।नुवाकोट र रसुवाको संगलस्थल बेत्रावतीमा गोरुजुधाइ मेलाको दृश्य हो यो । रसुवा, नुवाकोट र धादिङमा माघेसङ्क्रान्तिको दिन गोरु जुधाउने परम्परा छ । माघेसङ्क्रान्ति उत्सवअन्तर्गत एक संस्कृति नै बनेको छ– गोरुजुधाइ मेला । गाउँलेले आ–आफ्नो गोरुलाई एक–आपसमा जुधाउँछन् । विजेता गोरुको मालिकले पुरस्कारसमेत पाउँछन् ।

कसरी सुरु भयो गोरुजुधाइ मेला ?

नेपाल–तिब्बतबीच १८४९ असोज १७ गते बेत्रावतीनजिकै ढुङ्गामा बसेर सन्धि भएको थियो । नेपाल र तिब्बतबीचको भोट युद्धको सन्धि भएको स्थलमा यसरी मानवबीच पशुझैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय बताउँछन् । त्यही बेलादेखि बूढापाकाले माघ १ गते गोरु जुधाएर रमाइलो गर्ने परम्परा बस्यो । गोसाइँकुण्ड क्लबले ०५३ सालदेखि त्यसलाई व्यवस्थित गर्दै आएको छ ।

स्थानीयका अनुसार तारुकाको गोरु जुधाउने जात्रा सयौँ वर्ष पुरानो परम्परा हो । बझाङी राजा जयपृथ्वीबहादुर सिंहको समयदेखि यो निरन्तर चलिरहेको छ । सिंह मावली गाउँ तारुका आउँदा स्थानीयले गोरु जुधाएर स्वागत गरेको र पछि त्यो परम्परा नै बनेको उनीहरूको भनाइ छ । विगतमा तारुकाको कोलडाँडा, चन्दनी, ठूलोपोखरीलगायत ठाउँमा हुने गोरुजुधाइ मेला एक दशकयता सबै ठाउँकालाई समेटेर तारुका–५ चन्दनीमा हुँदै आएको छ । जात्रामा नुवाकोट, धादिङ, रसुवा, चितवन, कास्की, काठमाडौंलगायत स्थानबाट सयौँ दर्शक आउने गर्छन् ।

परम्परमको जगेर्ना गर्न यस्तो कार्यक्रम आयोजना गरिएको सभापति क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताउनुभयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com