लण्डन । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ प्रतियोगिताको शीर्ष तीन (टप-३) मा पर्न सफल भई नेपाल र नेपाली खानाको पहिचान विश्व सामू परिचित गराउन सफल भएका छन्। तर उक्त प्रतियोगिताको उपाधि भने बेलायतको एसेक्सका आलेक्स वेवले जितेका छन् । बिहीबार साँझ बीबीसीबाट प्रसारित साे प्रतियोगिताको १३ओैं संस्करणको फाइनलमा उनलाई विजेता घोषणा गरिएको थियो ।
नेपालका सन्तोष साह, नेदरल्याण्डसका बार्ट भान डर ली र एसेक्सका आलेक्स वेव ३२ जना सेफबाट छानिएर फाइनल तीनमा पुगेका थिए । सिरहा कर्जन्हाका ३५ वर्षीय साह १५ वर्षको उमेरदेखि सेफ बनेका हुन् । सन्तोष विगत १० वर्षदेखि लण्डनमा सेफ छन् । उनले प्रतियोगितामा नेपाली खानाका विभिन्न परिकार बनाएर प्रस्तुत गरेका थिए ।
सन्तोषले प्रतियोगिता जित्नु हार्नु आफ्नो उद्देश्य नभएको तर नेपाली खानाको प्रबर्धन गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताउँदै आएका छन् । सानैमा पिताको देहान्त भएपछि उनकी आमाले सात दाजुभाइ दिदीबहिनीके देखभाल गरेकी थिइन् । परिवारको भरणपोषणका लागि उनी दाजुको साथ लागेर भारतको गुजरात पुगेका थिए । त्यहीँबाट उनी शुरुमा रेस्टुरेन्टमा सामान्य कर्मचारी हुँदै सेफ बनेका थिए ।
भारतीय खाना बनाउन निपुण सन्तोष हाल लण्डनको द सिन्नामोन क्लव रेष्टुरेन्टमा हेड सेफका रुपमा कार्यरत छन् । उनी करिब दुई वर्षदेखि नेपाली खानाको अनुसन्धान र प्रबर्धनमा सक्रिय छन् ।
बिजेता आलेक्स डनमाउ एसेक्समा हेडसेफका रुपमा कार्यरत छन् । उनी फ्रेन्च खाना बनाउन मन पराउँछन् । प्रतियोगिताको फाइनलमा पुगेका ली निजी सेफका रुपमा लण्डनमा कार्यरत छन् । उनले खानासम्बन्धी ब्लग पनि चलाउँदै आएका छन् ।