कोलोम्बो। श्रीलङ्काको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । दङ्गामा मारिएका सबै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको हो।
समाचारमा जनाइए अनुसार दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि छन् । कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् ।
बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ । श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नुपरेको प्रहरी प्रवक्ता अजित रोहनाले बताउनुभएको छ ।
सो दङ्गामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताउनुभएको छ । कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको पनि रोहनाले बताउनुभएको छ ।
श्रीलङ्कामा कोरोना शुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ ।