काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्ब कप्तान समेत रहेका अलराउण्डर पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एशोसिएट प्लेयर अफ द् डिकेड पुरस्कारका लागि मनोनयनमा परेका छन्। पारससँगै अशोसिएट राष्ट्रबाट स्कटल्याण्डका काइल कोट्जर, कैलम म्याकक्लोयड, रिची बेरिंगटन, पपुवा न्यू गिनीका असाद भाला र नेदरल्याण्ड्सका पिटर बोरेन पुरस्कारको मनोनयनमा परेका छन् ।
आईसीसीले एक दशकसम्म उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटरलाई विभिन्न शिर्षकमा पुरस्कृत गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आईसीसी अशोसिएट क्रिकेट, आईसीसी महिला एशोसिएट क्रिकेट, महिला क्रिकेट, पुरुष क्रिकेट, ओडीआई पुरुष र महिला क्रिकेट, टेष्ट क्रिकेट लगायतको विधाका क्रिकेटरको मनोनयन सूची आईसीसीले सार्वजनिक गरेको हो ।
३३ वर्षीय पारसले नेपालले एकदिवसीय मान्यता प्राप्त गरे यता छ अन्तर्राष्ट्रिय एकदिवसीयमा २३५ रन बनाइसकेका छन् । १५ टी ट्वान्टीमा उनले ७७४ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले एक शतक र एकअर्धशतक समेत बनाइसकेका छन् ।