लण्डन । नेपाल चलचित्र कलाकार संघ यूकेको प्रथम बार्षिकोत्सब अनलाइन माध्यममार्फत सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण अनलाइन मार्फत वाषिकोत्सव सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रविन्द्र खड्काले बेलायतमा नेपाली चलचित्रको विकास र पहिचान स्थापना गर्ने कार्यमा हालको कार्य समितिले राम्रो काम गरेको भन्दै सबैलाई बधाई तथा शुभकामना दिए ।
चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरु नेपाल प्रेस यूनियन यूकेका अध्यक्ष बिपिन निरौला, गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष रविन गुरुङ, काउन्सिलर प्रवेश केसी लगायतले शुभकामना ब्यक्त गरेका थिए।
उक्त अवसरमा बोल्दै अध्यक्ष लिम्बुले परिस्थिती सुधार हुँनासाथ चलचित्र निर्माणमा आफ्नै सिर्जनात्मक कार्यको थालनी हुने भन्दै उनले चलचित्र क्षेत्रमा काम गर्न आस्था राख्ने नयाँ पीढिहरुलाई पनि यस क्षेत्रमा ल्याउने बताइन्।
अध्यक्ष लिम्बूले बेलायतमा चलचित्र संघ भएको भन्ने थाहा हुँदा हुँदै पनि केही समय अघि लण्डन स्थित नेपाली राजदूतावासमा चलचित्र महोत्सब भनेर गरिएको कार्यक्रमको विरोध गर्दै खेद प्रकट गरिन् । साथै उनले भविष्यमा नेपाली चलचित्रको प्रचार प्रसार तथा कलाकारहरुको हकहितका लागि केही प्रोजेक्ट गर्ने प्रतिवद्धता पनि व्यक्त गरेकी थिइन् ।
उपाध्यक्ष सुरेश राज पाठक, नायक ध्रुव दत्त,गोर्खा मिडियाका बरिष्ठ फोटो पत्रकार मिलन तमू,कोषाध्यक्ष इन्दु लिम्बू, सहकोषाध्यक्ष शान्त कुमार राई, सचिव सिर्जना निङलेखू, सदस्यहरु सन्तोष राई, प्रतिमा दुतराज, प्रतिक दुतराज, मनसुधन थापा मगरको समेत उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुरेशराज पाठकले गरेका थिए ।