स्वर्गीय राजा वीरेन्द्रको आवासगृह श्रीसदन नारायणहिटी सङ्ग्रहालयमा सर्वसाधरणका लागि खुला

काठमाडौँ । तत्कालीन राजा स्व वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आज शनिबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो ।

दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनासपछि उक्त सदन बन्द रहेको थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधरणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो । श्रीसदन प्रदर्शनीकक्षको आज आयोजित एक कार्यक्रमकाबीच उद्घाट गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहासको एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताउनुभयो । “इतिहास कसैको दुस्मन हुँदैन, त्यो एउटा घटना हो । यथार्थ हो, त्यसलाई आजीवन संरक्षण गर्न सकियो भने आउने पुस्तालाई पनि ज्ञान हुनेछ”, उहाँले भन्नुभयो ।

आधुनिक नेपालको एकीकरणमा राजतन्त्रको प्रगतिशील भूमिका अविस्मरणीय रहेको भन्दै मन्त्री भट्टराईले पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास नारायणहिटी क्षेत्रभित्र रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आधुनिक नेपाल निर्माणमा नेपालको शाहवंशीय राजतन्त्रले प्रगतिशील भूमिका खेल्यो । ब्रिटिस साम्राज्यवाद र उपनिवेशलाई रोक्न तथा नेपालका स–साना राज्यलाई एकीकरण गर्ने महान् कामको अगुवाइ गर्ने पृथ्वीनारायण शाहको भूमिकालाई निकै प्रगतिशील मानिन्छ र आज पनि उहाँको योगदानको सबैले स्मरण गर्ने गरेका छन् । आज श्रीसदन खोलिरहँदा पनि पृथ्वीनारायाण शाहको योगदानको उच्च कदर र सम्मान गर्न चाहन्छु, जुन देशका लागि गौरवपूर्ण ऐतिहासिक कार्य थियो ।”

श्रीसदन विभिन्न इतिहास र समाजको झलक तथा मानवजातिको विकासको जानकारी दिन सान्दर्भिक हुनेछ । दरबारसँग जोडिएका विभिन्न वस्तु, घटनाक्रम, देशका विभिन्न स्थानमा रहेका वस्तुलाई ल्याएर संरक्षण गरिनुपर्नेमा पर्यटनमन्त्रीको जोड थियो । उहाँले नेपालको २४० वर्षे शाहवंशीय राजतन्त्रको साक्षत इतिहासको रूपमा रहने सङ्ग्रहालयमा शाहवंशीय शासनको कसरी शुरु र अन्त्य भयो, त्यसको जीवन्त इतिहास नारायणहिटी सङ्ग्रहालयबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री भट्टराईले तत्कालीन राजा वीरेन्द्रको जीवनशैली र उहाँको परिवारलाई बुझ्न सहयोग पुग्नुका साथै नेपाली मात्र नभई विदेशी विश्वविद्यालयबाट अध्ययन अनुसन्धान गर्नेका लागि महत्वपूर्ण सामग्री प्रदान भएको बताउनुभयो । उहाँले कीर्तिपुरको चम्पादेवीमा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अघि बढाइएको र त्यहाँ नेपालका १२५ जातिका अलग–अलग पहिचान र विविधता झल्कने सामग्री राखिने जानकारी दिनुभयो ।

त्यसैगरी नेपालको निर्माणमा राजनीतिक क्षेत्र, साहित्य र कलाकारिताको क्षेत्रबाट योगदान गरेका विशिष्ठ व्यक्तिको सम्मानमा काठमाडौँको जर्सिङपौवामा सङ्ग्रहालय बनाइने जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न बिदाको दिन कर्मचारी, विद्यार्थीलाई घुमफिर गर्न यस्ता सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

के–के छ श्रीसदनमा ?

श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ । दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्या, निराजन र श्रुतिको सयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ । ऐश्वर्याको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भ¥याङ उक्लिनासाथ प्यासेजमा पूर्व अधिराजकुमारी श्रुतिले तयार पारेको पेन्टिङ राखिएको छ । स्व राजा वीरेन्द्र, ऐश्वर्या, श्रुति र निराजनको वाथरुम, सिङ्गार कोठा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । स्व ऐश्वर्याको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा रहेको छ । -रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com