१५ बुंदे निर्णय गर्दै मध्यपूर्व भेला सम्पन्न : एनआरएनएमा रोटरीको जस्तो चुनाव प्रणाली ल्याउँ- डा. शेष घले

लण्डन। गैरआवासीय नेपाली संघको दुई दिने सातौं मध्यपूर्वीय क्षेत्रीय भेला १५ बुँदे निर्णयहरु गर्दै शनिबार सम्पन्न भएको छ। “गैरआवासीय नेपालीहरुको आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चितता” भन्ने मूल नारा सहित आयोजित भेलाको आयोजकमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार रहेको थियो।

भर्चुयल प्रविधिद्वारा सम्पन्न भेलामा प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली तथा विशिष्ट अतिथिहरुमा श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री माननीय सुजाता कोइराला, पूर्व श्रम मंत्री रमेश लेखक, पूर्व वन मन्त्री शंकर भण्डारी, नेकपाकी सांसद रामकुमारी झांक्री, म्यानमार, मलेशिया तथा खाडी मुलुकहरुका लागि नेपाली राजदूतहरु, संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, प्रमुख संरक्षक डा. शेष घले, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा तथा सल्लाहकारहरू सहभागी भएका थिए । एनआरएनए मध्यपूर्वका क्षेत्रीय संयोजक प्रविण गुरुङ्ले सबैलाई धन्यवाद दिएका थिए।

एनआरएनएमा रोटरीको जस्तो चुनाव प्रणाली ल्याउँ: डा. शेष घले

गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले संघमा पनि अन्तर्राष्ट्रिय कल्याणकारी संस्था , रोटरी इन्टरन्याशनल, को जस्तै चुनाव प्रणाली अपनाउन प्रस्ताव गरेका छन्।

एनआरएनए मध्यपूर्वको सातौं क्षेत्रीय बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घलेले आफ्नो कार्यकालमा तयार गरिएको ‘भिजन २०२० एण्ड बियोंड नामक दस्तावेजको स्मरण गरे । उनले भने, ” उक्त दस्तावेजलाई ३६ महिना अघि एनआरएनएले सर्वसम्मतिले पारित गरेको थियो। उक्त दस्तावेज अहिले पनि एनआरएनको वेबसाइटमा उपलब्ध छ। म साथीहरुलाई त्यहाँ गएर पढी दिनुहुन अनुरोध गर्दछु।”

“हाम्रो संस्था रोटरी जस्तो किन हुन सक्दैन? हामी कहाँ नेतृत्व किन रोटेट हुन सक्दैन? हामीलाई अहिले हाम्रो संस्थालाई संसारको साच्चिकै जीवन्त ग्लोबल संस्था बनाउन सक्ने अवसर छ । यो सबैको लागि चासोको विषय हो,” उनले भने।

“मैले २,२ पटक चुनाव लडे। त्यो परिस्थितिको कुरा हो। आइसीसी मात्रै होइन, एनसीसीमा पनि, अध्यक्ष मात्रै होइन सबै पदमा, हामी किन मिलेर यो संस्था चलाउन सक्दैनौं। हामी किन एकताबद्ध हुन सक्दैनौं? अहिलेको अवस्थामा एउटा कुरा आवश्यक छ त्यो हो एकता। कोभिडले विदेशमा रहेको हाम्रो जस्तो समुदायलाई धेरै पछाडी धकेलेको छ। कोभिडले हामीलाई अझ पछाडी पार्दैछ। यस्तो बेलामा हामी कसरी एकतावद्ध हुने?,” घलेले प्रश्न गरे।

हाल अस्ट्रेलियामा बसोबास गर्ने डा. घलेले कानूनी रुपमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद (एनसीसी ) अलग संस्थाहरु भएको बताए। “यो एउटा नेटवर्क,सम्झौता हो, त्यो सम्झौतालाई विस्तार गर्नको लागि हामीले तिनीहरुलाई स्वायत्तता दिन सक्नु पर्छ त्यस पछि मात्र हामी विस्तारित हुन सक्छौं, बलियो एनसीसी बनाउँ , बलियो सचिवालय बलियो बनाउँ, हामी सबैलाई अंकमाल गर्न सिकौं। यो अभूतपूर्व समय हो, यसलाई कोभिडले ल्याएको अवसरको रुपमा लिउँ,” घलेले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले कोभिड-१९ का कारण रोजगार गुमाएर नेपाल फर्केका नेपालीहरुलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न “एक एनआरएन एक रोजगार” को प्रस्ताव राखे ।

“लाखौं नेपालीहरु खाडी लगायतका मुलुकबाट स्वदेश फर्कीरहनु भएको छ। उहाँहरुलाई नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्ने चुनौती छ। त्यसका लागि एनआरएनएले पनि पहल गरोस् भन्ने मेरो चाहना हो,” आचार्यले भने।

“महँगो चार्टर्ड उडानमा टिकट काटेर दशौँ हजार नेपालीहरु घर फर्कनु भएको छ, तर अझै पनि हजारौं नेपालीहरु स्वदेश फर्कन पर्खि रहनु भएको छ। मैले सार्वजनिक रुपमै सम्माननीय प्रधानमंत्रीज्यूलाई अलपत्र परेका दाजुभाइ दिदी बहिनिहरुलाई निशुल्क उडानको व्यवस्था मिलाई दिनोस् भन्दै सार्वजनिकरुप मै अनुरोध पनि गरें। तर अहिले कोभिड-१९ फैलिएको सात, आठ महिना पछि पनि कैयौं नेपालीहरु विदेशी भूमिमा अलपत्र पर्नु दुखको विषय हो। म फेरि यही मन्चबाट जति सक्दो चांडो दशैं, तिहार, छठ जस्ता नेपालीहरुका प्रमुख चाड अगावै स्वदेश फिर्तीको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु,” एनआरएनएका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका आचार्यले भने।

“अहिले फ्री मेम्बर्शिप, अनलाइन भोटिंग जस्ता प्रस्तावहरु पनि अगाडी सारिएका छन्। संगठनलाई मजबूत बनाउने किसिमले, एनसीसीहरुलाई बलियो बनाउने किसिमले, सबै नेपालीहरु अटाउने एनआरएन बनाउने हिसाबले यी प्रस्तावहरुको बारेमा खुला छलफल गर्न म आग्रह गर्दछु,” आचार्यले भने।

सम्मेलनलाई सम्बोधन गर्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले युरोप, अमेरिकामा रहेका एनआरएनहरुलाई नेपाल फर्केका नेपालीहरुलाई रोजगारी सिर्जना गर्नमा सघाउन आग्रह गरे। अर्का पूर्व अध्यक्ष देवमान हिराचनले नेपाललाई अर्ग्यानिक देश बनाउने अभियान अन्तर्गत अहिलेसम्म आफ्नो कम्पनीले २८ हजार नेपालीहरुलाई तालिम दिइ सकेको बताए। संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले श्रमिकहरुको सम्मान हुन सकेमा मात्रै देशको समृद्धि हुन सक्ने बताए।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com