एनआरएन दोश्रो विश्व विज्ञ सम्मेलन एक झलक, क कस्ले के के भने ?

 

दोश्रो गैरआवासीय नेपाली विश्व विज्ञ सम्मेलन २०२०
९ अक्टोवर – ११ अक्टोवर
गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली
गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताउनु भएको छ । मुलुकको विकासका निम्ति प्रविधि तथा ज्ञानको प्रयोग गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैले गर्ने र आवश्यक प्रविधि भित्र्याउने बताउनुभयो ।
शुक्रबारदेखि भर्चुअल माध्यमबाट सुरु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै देश समृद्ध र सक्षम बनाउन चाहने एनआरएनको सोचलाई सरकारले उत्साहका साथ लिइरहेको बताउँदै सबैको सोच, सहयोग, ज्ञान र सीपले नै नेपाल समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली अर्थतन्त्र अझै सक्षम भई नसकेकाले बाहिरी लगानी भित्र्याउन आवश्यक रहेको र त्यसमा एनआरएनएले महत्वपूर्ण भूमिका खेल्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । गैर आवासीय नेपाली संघले उठाएको माग सरकारले पूरा गर्नेक्रममा रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय अघि बढिसकेको जानकारी गराउनुभयो । यसैगरी सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा रहेको बताउंदै प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला जनतालाई केही अप्ठ्यारो नहोस् भन्नेमा सरकारले पूर्णतस् ध्यान दिइरहेको बताउनुभयो ।
यसैगरी परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले कोरोना महामारीले बहुआयामिक चुनौती थपिएको भन्दै त्यो चुनौतीको सामना गर्न विश्वभर छरिएर रहेका उर्जावान नेपालीहरुको सहयोग अपरिहार्य हुने बताउनुभयो । नेपालभित्र रहेका सम्भावनालाई उजागर गरेर मात्रै आर्थिक उत्थान गर्न सकिने भन्दै उहाँले नेपाली विज्ञहरुलाई स्वदेशमा त्यस्ता सम्भावनाको खोजी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति डा। रामकण्ठ माकाजूले सम्मेलनमा सहकार्य गर्न पाएकोप्रति खुशी व्यक्त गर्दै विज्ञ सम्मेलनले नेपाल र नेपाली एवं विदेशी विज्ञबीच ज्ञान तथा प्रविधिको आदानप्रदानमा पूलको काम गरेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गैरआवासीय नेपालीले नेपालको अर्थतन्त्र चलायमान बनाई समृद्ध मुलुकको सपना पूरा गर्न एनआरएनएसँग सहकार्य गर्न नीजि क्षेत्र तयार रहेको बताउनुभयो । उहाँले चुनौती देखाउने मात्रै नभई सम्मेलनमार्फत अवसरको खोजी गर्न सुझाउनुभयो ।
एनआरएनएका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले मातृभूमिलाई यतिबेला ज्ञान, सीप र बौद्धिकताले अघि बढाउनुपर्ने बेला भएकोले त्यही आवश्यकता पूर्ति गर्न सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली विज्ञ तथा उद्यमीहरुले स्वास्थ्य र कृषि क्षेत्रमा ठोस योजना ल्याए त्यसको लागि पूँजी संकलनको जिम्मा आफूले लिने उहाँले स्पष्ट पार्नुभयो ।

एनआरएनएका पूर्व अध्यक्ष एवं संरक्षक जीवा लामिछानेले अहिलेको युगमा ज्ञान प्रविधि र सीप हस्तान्तरण विकासको लागि महत्वपूर्ण हुने बताउनुभयो । देशको समग्र विकासमा आर्थिक पूँजी जस्तै बौद्धिकता, विज्ञान र प्रविधि आवश्यक पर्ने बताउंदै लामिछानेले ज्ञानमा आधारित अर्थतन्त्रको निर्माणका लागि गैरआवासीय नेपालीसँग रहेको ज्ञान सीप र प्रविधि तथा मानव संशाधन प्रयोग गर्न अहिले महत्वपूर्ण समय रहेको जनाउनु भयो । कोरोनाले प्रभावित अर्थतन्त्र उकास्न गैरआवासीय नेपाली विज्ञहरुको भूमिका अपरिहार्य हुने उहाँको भनाई थियो । उहाँले नीति निर्माण तहमा गैरआवासीय नेपाली विज्ञहरुलाई समेत सहभागी गराउन सरकारसँग आग्रह गर्नुभयो ।
एनआरएनका पूर्व अध्यक्ष एवं संरक्षक देवमान हिराचनले एनआरएनए संस्था मात्रै नभई एक अभियान भएकोले स्वदेशका लागि केही गर्ने समय आएको बताउनुभयो । उहाँले समृद्ध मुलुकको सपना पूरा गर्न गैरआवासीय नेपालीको ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न सबैलाई आह्वान गर्नुभयो ।
एनआरएनएका पूर्व अध्यक्ष तथा संरक्षक डा। शेष घलेले कोरोना महामारीको कहरबाट जुध्दै गरेको मातृभूमिलाई आफ्नो तर्फबाट जे जसरी हुन्छ सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले कुरा भन्दा पनि काम गरेर देखाउने बेला भएकोले स्थानीय स्तरमा प्रभावकारी हुनेखालका र कार्यान्वयन गर्न सकिने खालका उपलब्धिमूलुक योजना ल्याउन आग्रह गर्नुभयो । सम्मेलनले कार्यान्वयनमुखी योजनामाथि घनीभूत छलफल गर्ने उहाँको विश्वास थियो ।
एनआरएनका पूर्व अध्यक्ष भवन भट्टले विश्वव्यापीकरणको यस युगमा संसारभरका नेपालीले आर्थिक र बौद्धिक समृद्धिलाई अघि बढाउन एनआरएनएको महत्वपूर्ण भूमिका औंल्याउनुभयो । उहाँले पहिलो विश्व ज्ञान सम्मेलनका सुझावको श्वेतपत्र सरकारलाई बुझाएको र त्यसको केही हदसम्म कार्यन्वयन भएको बताउँदै यस सम्मेलनमा विगतमा भएका कार्यन्वयनको समीक्षा गर्दै दोस्रो सम्मेलनका सुझाव कार्यान्वयनमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधि स्वदेशमा भित्र्याउन सम्मेलन कोशेढुङ्गा हुने बताउनुभयो । विदेशमा रहेपनि स्वदेशको समृद्धिमा हातेमालो गर्ने चाहना हरेक गैरआवासीय नेपालीको रहेको उहाँले बताउनुभयो । एनआरएनएको लगानी पूँजी मात्रै नभई भावना पनि भएको भन्दै उहाँले विदेशमा आर्जन गरेको ज्ञान, सीप एवं पूँजीलाई एकीकृत र संगठित पार्दै मातृभूमिको हितमा अत्यधिक रुपमा प्रयोग गर्न संघले काम गरिरहेको जनाउनु भयो ।

एनआरएनका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली भौतिक रुपले टाढा भएपनि भावनात्मक हिसावले सदैव स्वदेशसँगै जोडिएको बताउँदै नेपाल बाहिर रहेको विज्ञता मुलुकको समृद्धि र विकासका लागि प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एनआरएनए महिला उपाध्यक्ष रविना थापाले गैरआवासीय नेपाली जहाँ बसेपनि स्वदेशप्रतिको जिम्मेवारीबाट कहिले पछि नहटेको बताउनुभयो । मुलुकमा जतिजति बेला संकट आउँछ त्यति बेला एकजुट भएर अघि बढेको उहाँको भनाइ थियो । कोरोना कहरमाझ पनि गैरआवासीय नेपालीहरुले सकेसम्मै सहयोग गरिरहेको उहाँले बताउनु भयो ।
आइतबारसम्म चल्ने तीन दिने विज्ञ सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् । साथै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । विशेषतस् कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ । संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औं पञ्चवर्षीय योजनासंग सम्बन्धित विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा भै रहेको सम्मेलनमा काठमाडौ विश्वविद्यालयको सहकार्य रहेको छ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु र नेपालसंग जोडिएका विदेशी विज्ञहरु सहभागी भै रहेका छन् ।
आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षाः एनआरएनए
गैर आवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा शुक्रबार आयोजित प्राविधिक तथा व्यवसायीक शिक्षा विषयक कार्यक्रममा विभिन्न विद्याका विज्ञहरुले धारणा राख्नु भयो ।
प्राविधिक तथा व्यवसायीक शिक्षाको उपलब्धताले सम्मानजनक रोजगारी सिर्जनामा भई समग्र देश विकासमा समेत टेवा पुग्ने अधिकांशको धारणा थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले प्राविधिक तथा व्यवसायीक शिक्षाको महत्वलाई मनन् गर्दै आयोगले यो विषयलाई प्राथमिकताका साथ लिएको बताउनु भयो ।
‘सरकारले पनि पछिल्लो समय प्राविधिक शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । हामी पनि यो विषयमा निकै संवेदनशील छौँ,’ उहाँले भन्नु भयो ।
नेपाललेले योजनाबद्ध विकासको लक्ष्य अघि सारेकाले यसमा पनि प्राविधिक तथा व्यवसायीक शिक्षाले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले समग्र विश्वको विकास पनि प्राविधिक शिक्षा बिना सम्भव नरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै लक्ष्मी बैंक तथा प्राइमलाईफ इस्योरेन्सका अध्यक्ष समेत रहेका नेपाल ब्रिटेन चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रिजका अध्यक्ष राजेन्द्र खेतानले प्राविधिक तथा व्यवसायीक शिक्षा निकै सान्दर्भक भएको बताउनु भयो ।
सैदान्तिक शिक्षाको तुलनामा व्यवसायीक तथा प्राविधिक शिक्षाले सीप विकास गरी आत्मनिर्भर बन्न मद्धत गर्छ । साथै यसले जीवन स्तर सुधार गर्दै आर्थिक विकासमा पनि टेवा पुयाउँछ,’ उहाँले भन्नु भयो, ‘यदि तपाइँले कसैलाई तालिम दिनु भयो भने त्यो तालिम काम खोजिरहेकाहरुका लागि मात्रै महत्वपूर्ण हुँदैन यो समग्र उद्यमीहरु तथा राष्ट्रका लागि महत्वपूर्ण हुन्छ ।’
सीपयुक्त जनशक्तिबाट हुने गुणस्तरीय उत्पादनले समग्र क्षेत्रको विकासमा टेवा पुगि मुलुक आर्थिक उन्नतीतर्फ अग्रसर हुने उहाँको भनाई थियो ।
अहिले समग्र विश्वको विकास व्यवसायीक तथा प्राविधिक शिक्षाकै कारण सम्भव भएको उहाँले जोड दिनुभयो ।
नेपालमा पनि प्राविधिक शिक्षाले विस्तारै स्थान पाउँदै गएता पनि अध्ययन, अनुसन्धान, पहुँच तथा अनुगमनको अभावमा गुणस्तरीय हुन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कोलम्बो प्लान स्टाफ कलेजका डिरेक्टर जनरल डा. रामहरी लामिछानेले विश्व श्रम बजारमा नयाँनयाँ फरक किसिमका सीपहरुको माग बढेको बताउनु भयो । तर नेपालका पाठ्यक्रम सैदान्तिक शिक्षामा आधारित रहेकाले पाठ्यक्रम नै संशोधन गर्न आबश्यक रहेको उहाँले औँल्याउनु भयो ।
नेपालमा स्रोत तथा साधनको अभावका कारण प्राविधिक तथा व्यवसायीक शिक्षामा पनि फड्को मान नसकेको भन्दै यसका लागि बजार क्षमता तथा तात्पर्यता बढाउन उहाँले जोड दिनुभयो ।
नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम (टेक्नीकल एण्ड भोकेस्नल एजुकेशन एण्ड ट्रेनिङ) को महत्व दर्शाउँदै यसमा अध्ययन अनुसन्धान गरेर अगाडी बढ्न आबश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
साउद एशिया ह्युमन एण्ड सोसल डभेलपमेन्ट डिभिजन बैंक तथा एशिएन डेभलपमेन्ट बैंक (एडिबी) का निर्देशक डा.साङ्गस्युप राले एसियामा सीप विकासका चूनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै एशियामा अनुसन्धान तथा व्यवस्थापनको अभावका कारण प्राविधिक शिक्षाको विकास हुन नसकेको औँल्याउनु भयो ।
बेमेल, औद्योगिक साझेदारीको अभाव, कमजोर संस्थागत क्षमता, नवप्रवद्र्धनका लागि कमजोर समर्थन तथा छुट्टै रणनीतिको अभावका कारण नेपालसहित समग्र एशियामा प्राविधिक तथा व्यवसायीक शिक्षाको विकासमा चुनौती खडा भएको उहाँको भनाई थियो ।
पछिल्लो समय एशिया प्राविधिक क्षेत्रमा विस्तारै फड्को मार्न थालेको उहाँले बताउँदै उहाँले प्राविधिक तथा व्यवसायीक शिक्षाको विकासका लागि अध्ययन, अनुसन्धान तथा साझेदारीमार्फत छुट्टै रणनीति बनाएर अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
डा. उत्तम गौलीले सञ्चालन गरेको कार्यक्रमको पहिलो सेसन अन्तर्गतको कार्यक्रममा अमेरिकन एशोसिएसन अफ कम्युनिटी कलेजका पूर्व सिइओ डा.जर्ज बक्स, अमृता शर्मा पिएचडी स्टुटेन्ट इन डेभलपमेन्ट स्टडीज काठमाडौं युनिभर्सिटी लगायतले आफ्नो धारणा राख्नुभयो ।
सोही कार्यक्रमको दोस्रो सेसन अन्तर्गत पनि राष्ट्रिय योजना आयोगकी सदस्य उषा झा , एनआरएनएका उपाध्यक्ष मन केसी, प्रोफेसर, उधोगपति राजेन्द्र खेतान, मशेशनाथ पराजुली, डा. तुल्सी धरेल, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही, मन केसी उपाध्यक्ष एनआरएनए , सांसद डा. सूर्य पाठक, एनआरएनएका पदाधिकारी राम थापा तथा एग्रिकल्चर इन्फरमेशन एण्ड ट्रेनिङ सेन्टर नेपालका प्रमुख श्रीराम घिमिरेले आफ्नो धारणा राख्नु भएको थियो ।
डा. उमा प्रधानले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै अधिकांशले नेपालमा प्रविधिक तथा व्यवसायीक शिक्षाको महत्व रहेको औँल्याउनु भयो । प्राविधिक शिक्षाले युवाहरुको क्षमता अभिवृद्धि मात्र होइन दिर्घकालीन रोजगारी सिर्जनामा समेत टेवा पुर्याएको उहाँहरुले उल्लेख गर्नुभयो ।
प्राविधिक तथा व्यवसायीक शिक्षाको आबश्यकता तथा महत्व बढेसँगै सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षाको विकासमा ध्यान दिनुपर्ने उहाँहरुको जोड थियो ।
‘विदेशमा रहेका एनआरएन स्वास्थ्यकर्मी नेपाल फर्केर सेवा गर्न तयार’
गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहकार्य आबश्यकः पूर्व मन्त्री यादव
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित बोल्दै पूर्व स्वास्थ्य तथा कानुन मन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारको समन्वयकारी भूमिका बनाउनुका साथै एनआरएनए लगायत विभिन्न अन्तराष्ट्रिय निकायसँग सहकार्य आबश्यक रहेको बताउनु भयो ।
‘पब्लिक हेल्थ एण्ड पेन्डामिक मिटिगेसन’ विषयक कार्यक्रममा बोल्दै उहाँले महामारीको मौकामा स्वास्थ्य क्षेत्रमा गुणस्तरहीन सामग्री खरिद गरी भ्रष्टाचार गर्ने प्रवृति बढेकाले एनआरएनए लगायत अन्तराष्ट्रिय निकायहरुसँग सहकार्य गरे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिने बताउनु भएको हो ।
स्वास्थ्य मानिसको आधारभूत अधिकार भएको तर नेपाल जस्ता विकशील मुलुकहरुमा आधारभूत अधिकारबाट नै नागरिकहरु बञ्ति बन्नुपर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो ।
‘सबै नागरिकका लागि प्राथमिक स्वास्थ्य सुविधा निः शुल्क भन्ने छ तर सरकारी अस्पताल जाँदा औषधी छैन । निजीमा महंगो शुल्क तिरेर उपचार गर्न बाध्य बन्नुपर्ने अबस्था छ,’ कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले भन्नुभयो ।
कोरोना महामारीको समयमा पनि आर्थिक रुपले असक्षम नागरिकहरु खासगरी विपन्न तथा दलित समुदायहरु आबश्यक स्वास्थ्य सुविधाबाट बञ्चित बन्न बाध्य रहेको उल्लेख गर्दै कोरोनाका कारण यही वर्गका व्यक्तिहरुले ज्यान गुमाउनु परेको प्रष्ट पार्नुभयो । कोरोना महामारीले जटिल रुप लिँदै गएकाले अबस्था नेपालको सामथ्र्यभन्दा बाहिर जाने हो की भन्ने आशंका उहाले व्यक्त गर्नुभयो ।
‘एकातिर खुल्ला सीमाना, चेतनाको अभाव, र विभिन्न कारणले नेपालमा तीव्र गतिमा कोरोना फैलिएको छ,’ उहाँले भन्नुभयो, ‘यसबाट बचाउन कुनै लापरबाही नगरी राज्य लाग्नुपर्ने देखिएको छ ।’
महामारीकै समयमा स्वास्थ्य क्षेत्रमा भइरहेका भ्रष्टाचार रोकेर स्वास्थ्य सेवालाई चुस्त बनाउन उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वास्थ्यसँगै रोजगारी क्षेत्रमा पनि कोरोना महामारीका कारण निकै ठूलो असर परेको बताउनु भयो ।
‘खाडी क्षेत्रसहित समग्र विश्वको श्रम बजारमा कोरोनाको प्रभाव रहेको छ । खाडीमा मात्रै १० प्रतिशतले रोजगारी गुमाउने अनुमान छ,’ उहाँले भन्नु भयो ।
कोरोना महामारीका कारण महिला, घरेलु कामदार तथा दैनिक ज्यालादारीमा काम गर्ने, अस्थायी मजदूरहरु बढी मारमा परेको बताउँदै उहाँले पछिल्लो समय गन्तव्य मुलुकहरुले विदेशी कामदार प्रतिस्थापन गर्ने रणनीति अघि सारेकाले नेपाली श्रमिकहरु प्रभावित बन्ने जानकारी दिनुभयो ।
‘सम्पूर्ण खाडी मुलुकहरुले आफ्ना नागरिकहरुलाई रोजगारीको प्रत्याभूति गर्ने रणनीतिहरु लागू गरेका छन् । ओमानले पनि २०१९ बाट ८० प्रकारका काममा विदेशी कामदारहरु नलिने घोषणा गरेको छ । थियो भने २०२१ बाट सरकारी कामदार नराख्ने नीति लिएको छ,’ राजदूत ढकालले भन्नु भयो ।
म्हमहामारीको समयमा नेपालले पनि अन्य राष्ट्रहरुले लिएको रणनीतिअनुसार सहकार्य गरेर अगाडी बढ्न आबश्यक रहेको उहाँले सुझाव दिनुभयो ।
स्वास्थ्य विभागका निर्देशक डा दिपेन्द्र रमण सिंहले नेपालमा कोरोना संक्रमणले जटिल रुप लिँदै गएको उल्लेख गर्नुभयो । ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पछिल्लो समय संक्रमितहरु मध्ये ७० प्रतिशत पुरुष तथा ३० प्रतिशत महिला रहेको उहाँले जानकारी दिनुभयो ।
‘संक्रमित मध्ये अहिलेसम्म एक्याक्टिभ केस २७ प्रतिशत छन् ७३ प्रतिशत निको भइसकेका छन्, उहाँले भन्नुभयो,’ ‘अहिलेको अबस्था बारे हामी थप अध्ययन गरिरहेका छौँ ।’
कोरोनासँग जुध्न निकै चुनौतीपूर्ण अबस्था रहेकाले सहयोगका लागि उहाँले एनआरएनएलाई समेत आग्रह गर्नुभयो ।
विदेशमा कोरोना नियन्त्रणका अनुभव तथा प्रविधिहरु नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग साटेर विदेशमा रहेका स्वास्थ्यकर्मीहरुले सहयोग गर्न आबश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
एनआरएनए अन्तर्गत स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ सँगसँगै हामी यात्रा गरिरहेको उल्लेख गर्नुभयो ।
कोरोनाका कारण हामीले थुप्रै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गुमाइसकेको बताउँदै ठूलो संख्यामा संक्रमित निको हुनु भएको जानकारी दिनुभयो । महामारीसँग जुध्न अझ धेरै संघर्ष आबश्य रहेकाले सबैजना हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा डा. भगवान कोइरालाले महामारीसँग जुध्न स्वास्थ्यकर्मीहरुको निकै महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । तर स्वास्थ्यकर्मीहरुको सुरक्षा अबस्था चाहिँ निकै दयनीयपूर्ण रहेको उहाँको भनाई थियो ।

समितिका अध्यक्ष डा. संजिव सापकोटाको संयोजनमा स्रिया गजुरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यक्रममा सांसद रिना गुरुङले पनि आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रोफेसर डा. पदम सिम्खडा, भोमा लिम्बु एनआरएनए महिला संयोजक, डा. इसान अधिकारी, डा. निस्हिता पाठक, डा. दिपेन्द्र पराजुली, रवि नायक नेश्नल ल स्कुल अफ इन्डिया युनिभर्सिटी, लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रमको दोस्रो सेसनमा समेत मोहनकुमार शर्मा त्रिभुवन युनिर्भसिटी एण्ड सेन्टर रिसर्च अन एजुकेशन हेल्थ एण्ड सोसल साइन्स, कृष्णप्रसाद पाठक कोटेश्वर बहुमुखी क्याम्पस, डा. पुष्पराज भट्टराई, जानकी पौडेल क्षेत्रीय महिला संयोजक ओसेनिया र गैरआवासीय नेपाली संघका महिला संयोजक भोमा देवी लिंबु लगायतले धारणा व्यक्त गर्नु भएको थियो ।

इनोभेसनइनोभेसन एण्ड स्टार्टअप राज्यको प्राथमिकता हुनु पर्नेमा जोड:
इनोभेसन र स्टार्टअपमा राज्यको प्राथमिकता जानुपर्ने दोस्रो ज्ञान सम्मेलनमा बोल्ने वक्ताहरुले बताएका छन् । गैरआवासीय नेपाली संघले आयोजना गरेको सम्मेलनका क्रममा इनोभेसन र स्टार्टअप विषयक छलफलका क्रममा वक्ताहरुले नेपालमा इनोभेसन आवश्यक भएको बताएका थिए । त्यसका लागि सरकार लचिलो भएर अघि बढ्नुपर्ने र व्यवसायका लागि स्टार्टअपमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण डा. राजु अधिकारीले गरेका थिए । कार्यक्रममा विभिन्न देशमा कार्यरत नेपाली तथा विदेशीहरुले आफ्ना अनुभव सुनाएका थिए । प्रविधिको आत्मसात गर्न सके मात्रै देशले फड्को मार्न सक्ने वक्ताहरुले बताए ।
प्रोफेसर एन्ड्र पार्डोले कार्यपत्र प्रस्तुत गर्दै अष्ट्रेलियाको आफ्नो अनुभव सुनाएका थिए ।
त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. रामेश्वर अधिकारी, हरि पाण्डे, डा आरपी त्रिपाठी, डा रोन चाटलर, डा भिमप्रसाद काफ्ले, समी कार्की, किसुन घेलानलगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कोभिडले कृषि क्षेत्र धराशायी :
कोरोना भाइरस (कोभिड १९) ले कृषि क्षेत्र धराशायी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धीत आधा दर्जन भन्दा बढी कार्यपत्र प्र्रस्तुत भए ।
नेपाल कृषिप्रधान देश भएपनि कृषिमा आत्मर्निभर हुन सकेको छैन् । उत्पादन घट्दै जाँदा कृषिक्षेत्रमै परनिर्भरता बढ्दै गएको छ । ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भएपनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको यसको योगदान बढ्न सकेको छैन् । नेपालले वर्षेनी २ खर्ब भन्दा बढीको कृषिजन्य वस्तु आयात गर्दै आएको छ ।
डा. जगदिस तिमिल्सनाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको बताउनुभयो । कृषि सँग सम्बन्धीत दर्जनौं कार्यपत्र प्रस्तुत भएका थिए ।
राष्ट्रिय योजना आयोगको पूर्व सदस्य विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको बताउनुभयो । कृषिमा प्रशस्त संभावना भएपनि उत्पादनमा जान नसकिएको उहाँको भनाइ छ । नेपालमा धेरै संभावना भएपनि धेरै आयात गर्नुपरेको अवस्था छ । कोभिडले समग्र अर्थतन्त्रमा असर पारीरहेको अवस्थामा कृषि क्षेत्रमा पनि समस्या सिर्जना गरेको उहाँको भनाइ छ । ‘कोभिड १९ ले भोकमरीको अवस्था आउन सक्ने देखिएको छ’ उनले भनिन् । समयमा ढुवानी गर्न नसक्दा खाद्यन्न तथा खाद्य वस्तुमा कोभिडले असर गरेको उहाँले बताउनुभयो ।
‘डेरी, तरकारी र पोल्ट्री व्यवसाय कोभिडले धराशायी बनाएको छ’ उहाँले बताउनुभयो । मलको समस्या समाधान गर्न सरकारले नसकेको उहाँको भनाइ छ । प्रोडक्सन हाइ, कृषि पूर्वाधार तथा प्रविधि नभएका कारण कृषि आत्मनिर्भर हुन सकेको छैन । किसानको प्रवद्र्धन हुन नसक्दा चिन्तित भइरहेका छन् । ‘रोडम्याप बनाएर निर्यातमा भन्दा आयात प्रतिष्ठापन गर्न सके ठूलो उपलब्धी हुन्छ’उहाँले भन्नुभयो । सरकारले कृषिको आकर्षक प्याकेज ल्याए एकडेढ वर्षमै फड्को मार्न सकिने उहाँको भनाइ छ ।
कृषिमा आत्मनिर्भर हुन विदेशी लगानी आकर्षक गर्नुपर्ने उहाँको भनाइ छ । प्रविधि प्रयोग गरी कृषिको लागत घटाउन सके कृषिमा आकर्षण बढ्ने निश्चित छ । कृषि पूर्वाधार बनाएर व्यापारघाटा कम गराउन सकिने उहाँले बताउनुयो ।
धान विशेषज्ञ भोलामान सिंह बस्नेतले चैते धान र बर्खे धान उत्पादन बढाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउन सके मात्रै धानमा आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले खाद्य र पोषण सुरक्षामा जोड दिनुपर्ने बतानुभयो । खाद्य सुरक्षा नीति र पोषणा सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ । कृषि विकास रणनीतिले समेत खाद्य सुरक्षामा प्राथिमकता दिएको छ । प्रत्येक नागरिकले खान पाउने गरी अधिकार सुरक्षित गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य यमुना घलेले धेरै खाद्य वस्तु संस्कृति र पहिचानसँग जोडिएको बताउनुभयो । खानेकुराको स्वाद, बनाउने शैली र समयले पनि खाद्यवसस्तुको उपयोगिता बढ्ने उनको भनाइ छ । ‘ खाना र पहिचान जोडिएर आउँछ’ उहाँले भन्नुभयो ‘बच्चा जन्मेदेखि मृत्युसंस्कारसँग खानाको महत्व छ ’
रबर विज्ञ तिलक भण्डारीले नेपालमा रबरको व्यवसायिक खेतीको संभावनाका प्रशस्त रहेको बताउनुभयो । वर्षेनी ११ अर्बको रबर आयात भइरहेको भन्दै स्वदेशमै रबर उत्पादन गर्न सरकारले ध्यान दिन नसकेको बताउनुभयो । रबरबाट ५० हजार वस्तु उत्पादन गर्न सकिन्छ ।
रबर धानपछि दोस्रो बाली हो । २ प्रतिशत मात्रै स्वदेशी रबरले धानेको । ९८ प्रतिशत बाहिरबाट आउँछ । ११ अर्बको रबर आयात भएको छ । नेपालमा रबरको खेतीबाट रोजगार दिन सकिने उहाँले बताउनुभयो ।
कोरोना कहर: माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन
कोरोना भाइरस (कोभिड १९) ले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएपनि तत्काल पूरा हुने नदेखिएको हो ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको क्रममा ‘कोरोनापछि पशुपालनको इसु र समाधान’ कार्यपत्र प्रस्तुत गर्दै पशुसेवा विभागका निर्देशक बंशी शर्माले माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिएपनि कोभिडले असर पु¥याएको बताउनुभयो ।
कुल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ । कृषि क्षेत्रमै पशुपन्क्षीको योगदान ३० प्रतिशत छ । ६० प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन् ।
निर्देशक शर्माले पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले पशुपालन क्षेत्रलाई प्राथमिकता दिदैँ आएको बताउनुभयो । व्यवसायिक पशुपालन गर्न सक्दा गरिबी निवारण र रोजारी सिर्जनामा यसले महत्वपूर्ण योगदान पु-याउँछ ।’ उहाँले भन्नुभयो । कोरोना भाइरस(कोभिड १९)ले दूधमा पूर्णरुपमा असर पुगेको छ । माछा खाने संस्कृति पनि कम भएको छ ।
निर्देशक शर्माले पशुमा लाग्ने रोग खेरेट, पिपिआर लगायत निर्मुल पर्न सरकार लागिपरेको बताउनुभयो । व्यवसायिक पशुपालनको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा काम गर्न सके पशुपालन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिने बताइएको छ ।
निर्देशक शर्माले गरिबीका कारण माछा, मासु र दूधको उपयोग बढ्न नसकेको बताए । पछिल्लो समयमा कोभिडले मासुको उपयोग झन् घटाएको र दूधको बिक्री हुन नसक्दा पाउडर बनाउनुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले उत्पादन बढाउन पशुचौपायको कृत्रिम गर्भाधान समेत गराउँदै आएको छ ।

कृषि उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पु-याइने:
नेपाली कृषि उत्पादन विश्वबजारसम्म पु-याइने भएको छ । नेपालको अर्गानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पु-याउने तयारी भएको हो ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनका क्रममा ‘कृषि उत्पादन र बजारीकरण’ प्यानल छलफलका क्रममा बोल्ने वक्ताहरुले कृषि उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पु-याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने वक्ताहरुले बताए । केमिकल, विषादी तथा एन्टिबायोटिकको प्रयोग बढीरहेकोमा चिन्ता व्यक्त गर्र्दै अर्गानिक खेतीमा ध्यान दिन सके स्वदेश तथा विश्वबजारमै बिक्रीको समस्या नहुने वक्ताहरुले उद्घोष गरेका छन् ।
उद्योगी पवन गोल्यानले कृषि क्षेत्रमा पछिल्लो समयमा प्राथमिकता दिएको बताउनुभयो । दुई तिहाइ किसान कृषिमै रहेकाले देशको लागि केही गर्न कृषि क्षेत्रमा जोडिएको उहाँको भनाइ छ । ‘गाउँगाउँमा गएर अर्गानिक खेति पनि सिकाँदै छौं’उहाँले भन्नुभयो,‘ बिषाधी खाद्यवस्तु खाएर धेरै बिरामी परेको अवस्था छ।’ गोल्यानले २५ वटा गाउँमा अर्गानिक जैविक मल र जैविक खेती गरी बिक्री गर्न नसक्ने किसानको वस्तु आफै किनिदिने गरेको बताउनुभयो ।
बजारीकरण महत्वपूर्ण विषय भएको भन्दै उहाँले नेपाल र विदेशमा बजारीकरण गर्न ध्यान दिनुपर्ने बताउनुभयो । । एग्रो प्रोसेसिङ इन्डस्ट्रीमा हात हालेर सरकार तथा नीजि क्षेत्रले बजारीकारणमा काम गर्नुपर्ने उनले बताउनुभयो । तालिम दिएर नेपाली श्रमिकलाई दक्ष बनाउनुपर्ने र विदेशी श्रमिक विस्थापित गर्दै जानुपर्ने उहाँको भनाइ छ ।
सरकारले रिटर्नी माइग्रेनलाई १० लाखसम्मको सहुलियत कर्जा बिना धितो ५ प्रतिशत ब्याजमा दिने व्यवस्था गरेको छ । एनएमबी बैंकका अध्यक्ष समेत रहेका गोल्याणले सहुलियत कर्जामा उच्च प्राथमिकता दिएर विदेशबाट फर्केकालाई उद्यमी बनाउन लागिपरेको बताउनुभयो ।
निम्बस ग्रुपका एक्जुकेटिभ डाइरेक्टर दिनेश गौतमले कृषिजन्य वस्तुको निर्यातमा प्राथमिकता दिइरहेको बताउनुभयो । किसानसँग प्रत्यक्षरुपमा जोडिएर फार्मिङ सञ्चालन गरी कृषिमा प्रत्यक्ष काम गरिरहेको उहाँले बताए ।
निम्बसले अन्नमन्डी कन्सेप्ट ल्याएका छ । खाद्यबाली धान, गहुँ र मकैको जीडिपीमा ठूलो योगदान दिएकाले यसको उत्पादन बढाउन सबै जागरुक हुनुपर्ने उनले सुनाए । किसानलाई बजार, बिक्री, कर्जा, ढुवानी, भण्डारण र बिमामा सहयोग गर्न सके कृषि उत्पादन बढ्ने र बजारीकरण हुन थप सघाउ पुग्ने उनको भनाइ छ ।
कन्चनजंगा टिस्टेटका डाइरेक्टर शान्ता कोरोइराला बास्कोटाले साना किसानलाई प्रोडक्सनमा जोड्न ध्यान दिएको बताउनुभयो । उहाँले अर्गानिक उत्पादनको विश्वबजारमा माग बढ्दै गएको बताउनुभयो । कञ्चनजंगा टिस्टेले सन् २००२ देखि नै अर्गानिक उत्पादन गर्र्द आएको छ । ‘हामी विभिन्न देशको स्टान्र्डड मापन गरी उत्पादन गर्ने गरेकाले बिक्री समस्या छैन् ।’ उहाँको क्वालिटी स्ट्यान्ड हुने भएकाले डिमान्ड बढी भएको उनको अनुभव छ ।
नेपाली उत्पादन अन्र्तर्राष्ट्रिय बजारमा पु-याउन सरकारले निर्यातमा सहजीकरण गर्नुपर्छ । विदेशमा पु-याउन ल्यावटोरी जिटुजी हुन सके सहज हुने उहाँले सुनाइन् । ‘क्षेत्रगत अनुसार सर्टिफिकेसन देश टु देश अनुसार गर्नुपर्छ ।’ उनले भनिन् । मास प्रोडक्सनका लागि फन्डिङ आवश्यक पर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
मास प्रोडक्सनमा जान कोरोना भाइरस(कोभिड १९) बाट रोजगारी गुमाएर विदेशबाट फर्केकालाई समेट्नुपर्ने उहाँले बताउनुभयो । ‘छुट्टै योजना ल्याएर उनीहरुलाई उद्योग र कृषिमा प्राथमिकता दिनुपर्छ’ उहाँ भन्नुभयो ‘मार्केटिङको लिंकअप गर्न सके किसानले बजारको समस्या भोग्नुपर्दैन।’
खाद्य प्राविधिक सक्झना दाहालले फुड सेफ्टी एण्ड क्वालिटी हुन सके बजारको समस्या नहुने बताउनुहुन्छ । ‘यसो भए एक्सपोर्ट मार्केटमा जान सक्छ’उनले भनिन्,‘तर बिक्री वितरणमा सहज बनाउन आइएसओलगायत सर्टिफिकेट लिनुपर्छ ।’ फुड क्वालिटी र सिस्ष्टममा उत्पादन गर्न ध्यान दिनुपर्ने उनले बताउनुभयो ।
व्यवस्थित पूर्वाधार निर्माण गर्न आग्रह :
योजना बनाएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने शुक्रबार एक कार्यक्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थितरुपमा निर्माणमा जोड दिनुपर्ने बताए ।
व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने बताए ।
नेपालमा पूर्वाधारमा लगानी विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताउनुभयो । ६० प्रतिशत सरकारको लगानी ३० प्रतिशत निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका छन् । यातयाता, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र(सेज), शहरी पूर्वाधार लगायत क्षेत्रमा अवसर लगानीको अवसर रहेको उहाँले बताउनुभयो ।
हाइड्रो, टुरिजम होटल र सीमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको उनले बताए । पब्लिक प्राइभेट पाटनरसीपमा पूर्वाधार लगानी पर्याप्त मात्रामा हुन नसकेको उहाँको भनाइ छ ।
कार्यपत्र प्रस्तुत गर्दै पिई सतिस त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताउनुभयो । ६ प्रतिशतदेअि ८ प्रतिशतसम्मको जिडीपी ग्रोथले आर्थिक विकासमा जाँदा पनि विकास सुस्त भएको उहाँको भनाइ छ ।
अरु देशले सुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उहाँको भनाइ छ । ‘सडकको ट्रयाक खोल्नमै छौ, उहाँले भन्नुभयो, हामी डेपलपमेन्टमा छैनौ’ अब लगानी गर्ने पूर्वाधारले देशको विकास कहाँ पुग्छ भन्ने भन्न सकिने उहाँको भनाइ छ । योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको उहाँको भनाइ छ । संघीयता सुरु भएको समयमा पूर्वाधार निर्माणको चरण भएको उहाँको भनाइ छ ।
५ वर्षमै पूर्वाधार बिग्रनेखालको बनाउन हुँदैन । पूर्वाधारका लागि लगानी गर्दैछौं । १९७० को मोडेलमा रहने होइन । दिर्घकालिन योजना बोकेर जानुपर्छ ।
थोरै काममा काम गर्दा पूर्वाधार निर्माण भएन, अब त स्थानीय तहले योजना बनाएर काम गर्न सक्छन्’ उहाँले भन्नुभयो ।
प्रोफेसर डां संगिता सिंहले भूकम्पपछि पुर्ननिर्माणको काम अघि बढ्न नसकेको बताउनुभयो । योजना बनाएर शहर निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । पूर्वाधार निर्माणमा योजना बनाएर अघि बढ्न सके पछि समस्या नआउने र व्यवस्थित शहर बन्ने उहाँको भनाइ छ । धुर्मुस सुन्तली फाउन्डेसनले बस्ती निर्माण गरेजस्तै सरकारले पनि त्यसरी योजना बनाएर अघि बढ्न आवश्यक भएको उहाँको भनाइ छ ।
सिभिल ईञ्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक भएको बताउनुभयो । विकसित शहर बनाउन पहिला नै योजना बनाउनुपर्छ’उहाँले भन्नुभयो । नेपालको शहरी क्षेत्र पूर्णरुपमा व्यवस्थित हुन नसकेको भन्दै अब निर्माण गर्दा व्यवस्थित गर्न सकिने बताउनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै रतन झाले पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने उहाँको भनाइ छ । आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यक भएको उहाँको भनाइ थियो ।
ईञ्जिनियर दिपक बाबु कडेलले गैरआवासीय संघले बस्ती सार्न खोज्दा नसकिएको बताउनुभयो । नेपालमा रेल आवश्यकताभएपनि जीवन जिउने आवश्यकता भएको बताउनुभयो । ‘जसरी हुन्छ, आर्थिक विकास गर्नैपर्छ’उहाँले भन्नुभयो,‘त्यसका लागि विदेशी लगानी बढाउनै पर्छ । स्मार्ट सिटी बनाउन ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । अरुणदेव पन्तले विल्डिङ इन्फास्टक्चरमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड १९ ले उत्पन्न गरेको विशम परिस्थितिमा पनि गैरआवासीयले महत्वपूर्ण काम गरेको बताउनुभयो । भौतिकरुपमा टाढा रहेपनि संमृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक गर्न विश्वकै जुनसुकै देशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी विकासशील बनाउन पूर्वाधारले महत्वपूर्ण योगदान दिने बताउनुभयो । स्थायी सरकार बनेसँगै देश निर्माणको क्रममा अघि बढेको बताउनुभयो । नीतिगत रुपमा सहज गर्दै विदेशी लगानी आकर्षित गर्दै पूर्वाधार निर्माणमा अघि बढेको उहाँको भनाइ छ । रेल, बाटो, सुरुङमार्ग निर्माणमा अघि बढेको बताउनुभयो ।
मन्त्री नेम्वाङले शहरी विकासमा सरकार लागिपरेको बताउनुभयो । ‘नयाँ संरचना निर्माण गर्दा त्यसतर्फ ध्यान दिएका छौं’उहाँले भन्नुभयो । मेघा शहर निर्माण गर्दा व्यवस्थित गरेर जाने बताउनुभयो । सुरक्षित नागरिक आवाज, जनता आवास, पुर्ननिर्माण क्षेत्रमा सरकारले ध्यान दिएको बताउनुभयो ।
नेपालमा कस्तो प्रकारको बिल्डिङ बनाउने भन्ने विषयमा योजना बनाएका छौं’उहाँले भन्नुभयो । विगतदेखि २७ वटा नयाँ शहर र १५ वटा स्मार्ट शहर बनाउन लागिएको बताउनुभयो । हिमाली भेगमा पनि हावापानी सुहाउँदो शहर बनाउने गरी ५ वटा ठाउँमा व्यवस्थित गरी अघि बढेको उहाँको भनाइ छ । एक शहर एक पहिचानको रुपमा अघि बढेको उहाँले बताउनुभयो ।
भारतको सिमाना जोडिएका ३० वटा नगरलाई व्यवस्थित शहर बनाउन लागिएको र १ सय ५८ वटा नयाँ शहरमा राम्रो नगर बनाउन लागिएको उहाँको भनाइ छ ।
दुई सय ९३ नगरलाई व्यवस्थित शहर बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो । पूर्वाधार निर्माणमा देश अघि बढेको भन्दै आवश्यकता अनुसार नीतिगत व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो ।
साना सडक व्यवस्थित गर्ने, पूर्व पश्चित रेल मार्ग निर्माण तथा सुरुङमार्ग निर्माणमा सरकारको प्राथमिकता गएको उहाँको भनाइ छ । उपत्यकाभित्र व्यवस्थित शहर निर्माण गर्न लागिएको र गैरआवासीय संघको समन्वयमा लगानी भित्राएर अघि बढ्ने बताउनुभयो ।
गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले सरकार र निर्माण व्यवसायीबीच सुमधुर सम्बन्ध हुन नसकेको बताउनुभयो । देशको विकासका लागि दुवै पक्ष एक भएर जानुपर्ने बताउनुभयो । पूर्वाधार निर्माणका लागि एनआरएनले सघाउने उहाँले बताउनुभयो । ‘गुणस्तर निर्माण गर्न हामी चुकेका छौं’उहाँले भन्नुभयो । प्रविधि प्रयोग र नेपालमा प्रविधि हस्तान्तरण गर्न सरकारले ध्यान दिन जरुरी भएको उहाँको भनाइ छ ।

आज जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानका विषयमा कार्यपत्र प्रस्तुत हुने छन् । समापन कार्यक्रम पश्चात गैरआवासीय नेपाली संघले एक श्वेतपत्र जारी गरी नेपाल सरकार समक्ष पेश गर्ने तयारी गरेको छ ।

(एनआरएनका महासचिव डा.हेमराज शर्माको फेसबुकबाट )

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com