'एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन' - संस्थापक सचिव ढकाल

-चिरञ्जीवी ढकाल

गैरआबासिय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा.उपेन्द्र मह्तोसहित संस्थापकहरु हामीले गठन गरेको यस संस्थाको विश्वसम्मेलन हिन्दूहरुको महान चाड दशैं र तिहारको वीचमा पार्ने गरी निर्णय गरेका थियौ । नेपालमा परिवारसँग बस्न मन हुदा हुदै बिभिन्न (अध्ययन, जागिर वा व्यापार) कारणले नेपालमा छाडने प्रवासी नेपालीहरुलाई परिवार, नातागोता र साथीहरु सँग भेटघाट हुने गरि धेरै सल्लाहपछि दशैं र तिहारका जस्ता ठुला चाडका वीचमा गैरआवासिय नेपाली संघको सम्मेलन राख्ने निधो गरिएको थियो । विश्वभरका नेपालीहरु एकै ठाउँमा जम्मा हुने आत्मिय सम्मेलन नै हो । हाम्रो इस्टमित्रसँग भेटघाट गर्न नै सम्मेलन प्रमुख मध्येको एक आकषर्ण हो । यो सम्मेलन नेपालमा गर्दा होटल व्यवसाय क्षेत्रमा आर्थिक सहयोग पनि हुन्छ ।

रोजगारी, अध्ययन वा व्यापारको सिलसिलामा मातृभूमी छाडेर प्रवासमा गएका हामी गैरआवासीय नेपालीहरु नेपालमै जम्मा भएर खुशी साटासाट गरि मनाउने र सम्मेलन पनि गर्ने उद्देश्यले काम गरिरहेका थियौं । १७ बर्षको यो दौरानमा प्रविधिले विश्वभर फड्को मारेको छ । निर्वाचनका नयाँ-नयाँ प्रणालीहरु संसारभर आइरहेका छन । गैरआवासीय नेपालीहरुले पनि बिस्तारै समय सापेक्ष यस्ता प्रणलीसँग अभ्यस्त हुदै जानु पर्छ । प्रविधिको विकास सँग हामी अघि बढेनौ भने संस्था काम लाग्ने हुन सक्दैन । संस्था गठनको मूल्य मान्यता नै त्यागेर प्रविधिलाई अपनाउनु भन्दा पनि मुल मर्मलाई सहयोग पुग्ने गरी काम गर्नु पर्छ । विश्वसम्मेलन दुई-दुई बर्षमा नेपालमा हुने भएकाले नै बार्षिक रुपमा क्षेत्रिय सम्मेलनहरु नेपाल बाहिर भएका हुन ।

दुई साता अघि एनआरएनए बैठकले नि:शुल्क सदस्य वितरण, प्रतिनिधिले नि:शुल्क भोट हाल्न पाउने, निर्वाचन प्रणाली परिवर्तन गर्ने र एमआईएस सिस्टममा गएर संसारभरका सदस्यहरुको डाटा एउटै प्रविधि मार्फत काम गर्ने कुराहरु सुन्दा राम्रो लागे पनि यस बिषयमा विस्तृत अध्ययन गर्नु पर्ने देखिन्छ । नि:शुल्क सदस्यता दिदा ती सदस्यहरुमा संस्थाप्रति स्वामित्व हुन्छ कि हुदैन ? निर्वाचन प्रणाली बदल्ने वित्तिकै सवै राम्रो हुन्छ त ? यस्ता प्रश्नहरुको जवाफ खोज्नु जरुरी छ । संस्था गठनका उद्देश्य अहिले बिस्तारै परिवर्तन भैरहेको आवास मैले गरेको छु । नि:शुल्क सदस्य वितरण गर्ने र प्रतिनिधिले भोट हाल्नु अघि तिर्दै आएको २० हजार तिर्नु नपर्नेलगायतका प्रस्ताव अहिले बाहिर आयो ।

एनआरएनए अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माको सकृयतामा आएको प्रस्ताव सुन्दा जो कोहीले राम्रो भन्छन । सुन्दा मलाई नि राम्रो लाग्यो । तर, हामीले एजेण्डा वा प्रस्तावका बारेमा विस्तृत रुपमा बुझेर मात्र धारणा बनाउनु पर्छ । किनकी कुनै पनि संस्था जीवन्त रहनका लागि धेर वा थोर पैसाको खाँचो पर्दछ । त्यसको आम्दानी वा खर्चका बारेमा हरेक गैरआवासीय नेपालीले थाहा पाउनु पर्दछ । जीवन्त चलिरहने संस्थाको गठनको उद्देश्य र यसको दीगोपन नै प्रमुख कुरा हो ।

एनआरएन नेतृत्वमा जान लाखौ तिर्नु पर्छ

अहिले पनि एनआरएनए आईसिसि सदस्य भएपछि संघमा एक हजार डलरको लेवि बुझाउनु पर्छ । त्यसवाहेक संघको सम्मेलनका विभिन्न पदमा उम्मेदवार दिने व्यक्तिहरुले लाखौ रुपयाँको उम्मेदवारी शुल्क तिर्नु पर्ने प्रावधान छ । त्यस बिषयमा वैठकले केही निर्णय गरेको छैन । अझ बुझ्ने भाषामा भन्ने हो भने नि:शुल्क सदस्यता पाए पनि नेतृत्वमा पुग्नलाई तपाई-हामी पैसा नहुने एनआरएनएहरु त्यहाँ पुग्ने स्थिति छैन । उहाँहरुले त्यो कुरालाई तपाईहरु समक्ष लुकाउनु भएको छ । अन्य देशको तुलनामा मध्यपूर्व वा खाडी मुलुकमा रोजगारीका लागि जाने मजदुर दाजुभाई वा दिदीवहिनीहरु (एनआरएनए)का लासहरु आर्थिक अभावकै कारण नेपालमा महिनौसम्म परिवारजन समक्ष पुग्न सकेको छैन ।
यो सामाजिक संस्था परोपकारी भावनाले एकले अर्कालाई सहयोग गर्दै चल्दै आएको छ । अझ भनौ, नेपालीद्वारा नेपालीहरुलाई नै सहयोग गर्दै यो एनआरएनए यहाँसम्म आएको हो । १७ बर्षको इतिहासमा गत बर्ष एनआरएनए टाट पल्टेर अध्यक्ष कुमार पन्त (तत्कालिन उपाध्यक्ष) कुल आचार्य (तत्कालिन उपाध्यक्ष) हालका सचिव गौरीराज जोशीलगायतका व्यक्तिहरुले ऋण स्वरुप सहयोग दिएर संस्थालाई चलाएमान बनाएको तपाईहरुलाई थाहै होला । यस्तो अवस्थाका एनआरएनएलाई विना पैसा दौडाउछु भन्ने कुरा विश्वास योग्य छैन ।
सस्तो लोकप्रियता केही दिनका लागि होला । आउने दिनमा एनआरएनएले कुनै आर्थिक संकलन गर्न सकेन भने हामीले दु:खले बनाएको संस्था कुनै व्यापारीलाई पदमा ल्याएर बिक्री गर्नु पर्ने अवस्था आउँछ । अहिले आएको प्रस्तावलाई हामीले स्वीकार गर्याैं भने व्यापारीको संस्था बन्ने निश्चित छ । जो सँग पैसा छ उसले एनआरएनएमा कव्जा जमाउँछ । तपाई र हाम्रो व्यक्तिगत विवरण खरीद गरेर ठुला कर्पाेरेट हाउस, होटल वा एयरलाइन्सले सजिलै केही प्रतिशत छुट दिन सक्छ । यो संस्था एक व्यापारीले अर्काे व्यापारीलाई विक्री गर्दै जान्छ । हामी एनआरएनए सदस्यहरु बिक्रीका साधान मात्र हुन्छौ । काठमाडौंमा रहेको कार्यालको बार्षिक खर्च मात्रै करीव एक करोड ६० रुपैयाँ छ । बल्ल-बल्ल हाम्रो श्रमले खरीद गरेको घरको भविष्य अदालको हातमा छ । यस्तो अवस्थामा सस्तो र लोकप्रिय नाराकापछि लाग्नु भन्दा विस्तृत अध्ययन गर्न दिऔं । अध्ययनका निष्कर्ष माथि विश्वभरका एनआरएनएवीच छलफल गरौं । अनि जे निष्कर्ष आउँछ त्यसलाई अबलम्बन गरौं ।

८४ वटा एनआरएनएका राष्ट्रिय समन्वय समिति छन । ती एनआसिसिहरु पनि नेपाली समुदायले आर्थिक सहयोग गरेर चलेका छन । उल्टो संघलाई सम्मेलनताका दुई-दुई बर्षमा पैसा बुझाउनु परेकै छ । तिनका खर्चहरु कसरी चल्छन । त्यो पनि अध्यन गरौं । सदस्यता सित्तैमा दिदा स्वामित्व ग्रहण गर्न मानिसले सक्दैन । कालान्तरमा यसको अबमूल्यन हुन थाल्छ । त्यसैले कम्तिमा एक वा दुई डलरमा सदस्यता वितरण गरौं । त्यसो गर्दा कार्डको प्रिटिङ र पोस्टेज मूल्य उठछ ।

विशेष अधिवेशन असंभव

नवौं सम्मेलनमा विभिन्न कारणले आर्थिक प्रतिवेदन पारित हुन सकेन । तीन महिना, ६ महिना भन्दै झण्डै आधा कार्यकाल सकिन लाग्दा समेत बिशेष गर्न सकिएन । कोभिड-१९ महामारीका कारण विशेष अधिवेशन गर्न गाह्रो परेको सर्वविदितै छ । अहिले पनि महामारीको अवस्था छ । यस्तो परिस्थितिमा ‘भर्चुअल’ विशेष अधिवेशन गर्ने प्रयास अहिले संस्थापनबाट हुन सक्छ । भौतिक रुपमा उपस्थित हुन नसक्ने अवस्थामा ‘भर्चुअल’ बिशेष अधिवशेन गर्न दिनु हुदैन ।
अवका केही महिनाहरुमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन हुन थाल्छन । यस्तो अवस्थामा बिशेष अधिवेशनतिर नलागि १० औं राष्ट्रिय सम्मेलनको तयारीमा लाग्नु पर्छ । कोरोना महामारीको संक्रमणमा धेरै मानिसहरुवीच भेटघाट पनि संभव छैन । प्रवासका धेरै मुलुकहरुले अत्यावश्यक काम बाहेक मानिसहरुलाई जम्मा हुन दिएका छैनन । त्यसलाई हामी सवैले मान्नै पर्ने हुन्छ । त्यसकारण यो अव्यहारिक काम तिर लाग्नु हुदैन ।

निर्वाचन पद्धती

हामीले १७ बर्ष अपनाएको निर्वाचन प्रणालीमा कमजोरी छ भने खोज्नु पर्छ । त्यो भनेको विशेषज्ञद्वारा विस्तृत अध्ययन गराउनु नै हो । भबिष्यमा उम्मेदवार नहुने व्यक्तिहरु सम्मिलित एक टोली बनाएर यसका नकारात्मक पक्षहरु हटाउ । यो पद्धतीबाट नकारात्मक पक्ष हटाउन सकिदैन भने परिवर्तन गरौं । आफै प्रस्ताव ल्याउने अनि आफैले राम्रो छ भन्दै प्रचार गर्दै हिडनुपर्ने लाज मर्दाे अवस्था बन्द गरौ । विश्वभरका एनआरएनएहरुलाई विश्वास गरेर उहाँहरुको विचार बुझौं । विश्वभरका हामी एनआरएनए सदस्यहरु प्रत्यक्ष निर्वाचन चाहान्छौ भने प्रत्यक्ष निर्वाचन र अनलाईन भोटिङ जाऔं । संस्थापक मध्येका हामी प्राय अहिले बाहिर छौ । तपाई कार्यसमितिका पदाधिकारीहरु पनि भोली हामी जस्तै बाहिर हुनु हुनेछ । एनआरएनएको उद्देश्य माथि खेलबाड नगरौं । सके राम्रो बनाउ नसके अहिलेको अवस्थामा छाडिदिनु होस । शक्ति दुरुपयोग नगरौं ।

जय एनआरएन!

(लेखक एनआरएनएका संस्थापक सचिव हुन)

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com