बार्सिलोना। जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
पोर्तुगलको लिस्बनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बायर्न म्युनिख भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बायर्न म्युनिखले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल गरेको बायर्न म्युनिखले दोस्रो हाफमा पनि चार गोल थपेको थियो ।
यसैबीच, बार्सिलोना क्लबका अध्यक्षले टिममा अब केही परिवर्तन गर्नुपर्ने संकेत गरेका छन् ।
जनवरीमा किके सेटिएन प्रशिक्षक बनेर आएपछि स्पानिस महारथी बार्सिलोनाले आफ्नो लय अनुसारको प्रदर्शन देखाउन सकेको छैन । ला लिगाको उपाधि रक्षा गर्न असफल हुनु च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिनु र सिजनमा उपाधि विहीन हुनुपरेपछि अब क्लबमा परिवर्तन हुनुपर्ने धेरैले भनेका छन् ।
क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउले पनि यस हारपछि अब क्लबमा केही परिवर्तन हुने बताएका हुन् । उनले बायर्नले राम्रो खेलेको र बार्सिलोना राम्रो नरहेको बताएका छन् । ‘यो वास्तवमै ठूलो पराजय हो,’ खेलपछि बार्तामेउले भने, ‘म उत्कृष्ट खेल खेल्ने बायर्नलाई बधाई दिन चाहन्छु । उनीहरू सेमिफाइनलमा खेल्न योग्य छन् । हामी हाम्रो राम्रो लयमा थिएनौँ र त्यसको नजिक पनि रहेनौँ ।’ केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बार्सिलोनाले अब सेटिएनलाई बर्खास्त गर्ने जनाएका छन्।
उनले अब निर्णय लिनुपर्ने बेला आएको बताए । ‘आज एउटा विपत्ति थियो र अब हामीले निर्णयहरू लिनुपर्नेछ । हामीले तीमध्ये केहीको बारेमा विचार गरिसकेका छौं,’ बार्तामेउले भने, ‘आज निर्णय गर्ने दिन होइन । हामी फ्यानहरू, सदस्यहरू र बार्सिलोनिस्टाससँग माफी माग्न चाहन्छौँ ।’
बार्तामेउले कस्ता निर्णयहरु भइसकेका छन् भन्ने खुलाउन चाहेनन् । ‘म के निर्णय भएको छ भन्नेबारे भन्न चाहन्नँ किनकी तिनीहरूमध्ये केही निर्णय भइसकेका छन् र अरू पनि हुनेछन्,’ उनले भने, ‘आज प्रतिबिम्बित गर्ने दिन हो । भोलिदेखि, हामी सबै बार्सिलोना प्रशंसकहरूको हौसला बढाउने प्रयास गर्नेछौं र हामी अर्को हप्ताबाट निर्णय लिनेछौं ।’
यस्तै बायर्नसँग पराजित भएपछि प्रशिक्षक किके सेटिएनले पनि बार्सिलोनाले अब निष्कर्ष निकाल्नुपर्ने र निर्णय गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । केही सञ्चारमाध्यमले भने बार्सिलोनाले अब सेटिएनलाई बर्खास्त गर्ने जनाएका छन् ।