नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

-राम राज शर्मा

नेपालमा बर्षाको मात्राको दरले बर्षलाई चार सिजनमा बाडिएको छ जसनुसार जुन देखी सेप्टेम्बर सम्मको अवधीलाई बर्षायाम मानिएको छ अर्थात बर्षायाम सुरु भैसक्यो। यो समयमा मासिक सरदार २५० देखी ४०० मिलिलिटर पानी पर्ने गरेको छ तर कुनै कुनै बर्षमा निकै ठुलो मात्रामा बर्षात पनी हुन्छ । वार्षिक औसत १६०० मिलिलिटर बर्षा हुने नेपालमा प्रत्यक दशकमा प्रतिमहिना ३.७ मिलिलिटरको दरले बर्षातको मात्रामा कमी हुँदै गैरहेको अध्ययनहरुले देखाएका छन तर पनि रनअफ ( सतही बहाब ) भने बढीरहेको छ।
मध्य पहाडी क्षेत्रमा (२००० मिटरको उचाइ सम्ममा ) सबैभन्दा धेरै बर्षा हुने गरेको छ पोखरा क्षेत्रमा औसत ३३०० मिमी भन्दा धेरै पानी पर्ने गरेको छ भने नेपालगंज क्षेत्रमा ११५०,काठमान्डौ क्षेत्रमा १४०० र हिमाली क्षेत्रमा १००० मिमी बर्षा हुने गरेको छ सोही अनुरुप मध्य पहाडी क्षेत्रमा पहिरो र त्यो क्षेत्रको पानी बगेर तराइमा डुबानको समस्या प्रत्यक बर्षा दोहोरिने गरेको देखिन्छ।
प्रत्यक बर्ष बाढी र पहिरोबाट करोडौको क्षती मात्र होइन सयौले जीवन गुमाउन परीरहेको छ । बर्षातको अन्तिम महिना सेप्टेम्बर देखी अर्को बर्षात आउन ८ महिनाको समय रहन्छ तर यो समयलाई बाढी र पहिरोको क्षती न्युन गर्न अल्पकालिन उपायहरु अबलम्बन गर्नको लागी सदुपयोग गर्न सकिएको छैन ।
अहिले कोरोना संकट ( लकडाउन ) गर्दा देशको आर्थिक अवस्था नाजुक भईसकेको छ । अब बर्षातमा बाढी र पहिरोको कारण राजमार्गहरु अवरुद्ध हुनपुगी आपुर्ती चेनमा समस्या आउने , बिद्युत आयोजनाहरु र प्रसारण लाइनका टावरहारुमा समस्या आउने क्रम सुरु भईसकेक छ । अर्को तर्फ कोभिडका कारण श्वास्थ संकट परीरहेको अवस्थामा बाढी र पहिरोका कारण मृत्‍यु हुने, घरबाहर हुने र ख्याद्यान्न उत्पादनमा प्रतिकुल असर पर्ने हुँदा हामी झनै गहिरो संकटमा पर्ने अवस्थामा पुगेका छौ ।

दोषी को ?

बाढी पहिरो र डुबान हुनुको २ कारण छन प्राकृतिक र मानव सिर्जित। । विश्वको बातावरण र जलबायु परिवर्तनको असरले गर्दा हाम्रा नदीनाला खोला खोल्साहरुमा पानीको बहाव अनेपेक्षित रुपमा परिवर्तन भैरहेको छ् । यो प्रकृतिक कारणलाई हामीले रोक्न त सक्दौनै तर साबधान अपनाउन भने पक्कै सक्छौ ।

अर्को मुख्य कारण हो मानव सिर्जित । अहिले जती डुबान, बाढी पहिरो र क्षती भैरहेको छ त्यो अधिकाँश हाम्रै कृयाकलापले निम्त्याएको समस्या हो। समयमा सचेत हुने र सोही अनुरुप काम गर्ने हो भने मानविय कारणबाट हुने बिपदलाई निकै धेरै मात्रामा न्युन गर्न सकिन्छ ।
पहाडी क्षेत्रमा भइरहेको वन विनास र उचित इन्जिनियरिङ विना निर्माण गरिएका ग्रामीण सडकले गर्दा पहाडी क्षेत्रमा ठूला र साना पहिरोहरू खस्ने क्रम निरन्तर छ। जनसंख्या वृद्धिसँगै भिरालो सतहमा रहेका बुट्यायन र घाँस मासेर खेती सुरुगर्ने र बस्ती बस्ने क्रम पनि उत्तिकै बढिरहेको छ। यिनै कारणले पहाडी क्षेत्रको ग्रेगर र माटो (सेडिमेन्ट) नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा थुप्रिने क्रम निरन्तर बढिरहेको र परिणाम स्वरूप नदीको सतह उचालिन पुगी सानो बाढी आउँदा पनि नदीको पानी आफ्नो बाटोबाट बाहिर फैलिन पुग्दै डुबान समस्या उत्पन्न भइरहेको छ।

हाम्रा कतिपय नदीमा भूक्षय तथा नदी नियन्त्रणका नाममा खोलाको प्राकृतिक बाटोलाई साँघुरो बनाउने र डिस्टर्ब हुने गरी संरचना निर्माण गर्ने गरेको देखिन्छ। पानीको आफ्नो बाटोलाई डिस्टर्ब गर्नेबित्तिकै पानीले नयाँ उपाय खोज्न सुरु गर्छ। बाढीको मात्रा र उक्त बाढीका लागि आवश्यक बाटोको ठीक गणना नहुनु नै नदीकिनार कटान र नियन्त्रणका लागि बनाइएका संरचनाको जग कटान हुनुको मुख्य कारण हो। नदी नियन्त्रणका लागि निर्माण गरिएका तिनै संरचना नदीकिनार कटान र नदीवरिपरि डुबानको प्रमुख कारण बनिरहेका छन्। आवश्यक इन्जिनियरिङ र भौगोलिक अध्ययन नगरी नदी किनारमा संरचना निर्माण गर्नु भनेको विपत्तिलाई निम्ता गर्नुसरह हो।

हाम्रा धेरैजसो नदीकिनारका बस्ती बाढी सतहमै रहेको देखिन्छ। सुरक्षाको दृष्टिकोणबाट हेर्दा नदीकिनारमा बस्ती निर्माण गर्दा दुई सय वर्षमा फर्किएर आउने बाढी सतहभन्दा माथि हुन जरुरी छ। भइरहेका बस्तीहरूमा यो नियम लागू गर्न सम्भव छैन र उक्त मात्राको बाढीको प्रभाव रोक्न सक्ने गरी संरचनाहरू निर्माण गर्नु जरुरी छ, तर नयाँ बस्तीमा आवश्यक बाढी अनुमान (फ्लड स्टडी) गरेर सोहीअनुसार बस्ती निर्माण गर्न आवश्यक छ। यसलाई नीतिगत रूपमै लागू गर्नका लागि सरोकारवाला निकाय लाग्नुपर्छ। अर्कोतर्फ मानिसहरूले नदीको प्राकृतिक बाटोलाई साँघुरो पार्दै घर निर्माण गरिरहेका छन्। यो विनाश निम्त्याउनेबाहेक अरू केही होइन।

बढ्दो सहरीकरण, सडक र अन्य भौतिक संरचना निर्माणले सतहमा बहने पानीको मात्रा (रन अफ) बढ्दो छ, जमिनको पानी सोस्ने क्षमतामा ह्रास आइरहेको छ। परिणामस्वरूप शहर नजिकका नदी वा ढलहरूमा पानीको मात्रा छिट्टै बढ्न पुगी डुबान समस्या उत्पन्न भइरहेको देखिन्छ। अर्कोतर्फ हाम्रा ढल निकासका लागि निर्माण गरिएका संरचना उचित हाइड्रोलोजी प्रयोग गरी डिजाइन गरेको देखिन्न। काठमाडौं, पोखरा, विराटनगरजस्ता ठूला सहरमा सडक र घरको छतबाट जम्मा हुने वर्षायामको पानीको मात्रा प्रत्येक वर्ष वृद्धि हुनुको एउटा मुख्य कारण यही हो।

चुरेभावर क्षेत्रमा नदीजन्य पदार्थ गिटी र बालुवाको अनियन्त्रित दोहन भइरहेको छ। पहाडी क्षेत्रबाट लगातार सेडिमेन्ट आइरहेकाले कुनै क्षेत्रमा नदीको सतह अत्यधिक उचालिने भइरहेको छ भने कुनै क्षेत्रमा अत्यधिक दोहन गर्नाले नदी सतह गहिरिने क्रम जारी छ। परिणामस्वरूप नदीहरूमा बाढी आउँदा उक्त बाढीको गति अनियन्त्रित रूपमा बढ्न गई नदी किनारको र सतहको अत्यधिक कटान भइरहेको छ। नदी किनारको कटान हुनु भनेको नदी आफ्नो बाटो छोडेर बस्ती र खेतीयोग्य जमिन छिर्न सुरु गर्नु हो। तराइमा यही भैरहेको छ अहिले ।

तराइ क्षेत्र विषेश गरी भारतीय सिमानाका गाँउहरु डुबान पर्नुको मुख्य कारण भारतले आफ्नो भुमी जोगाउन सिमा लाइनमा निर्माण गरेका बाँध र सडकहरु हुन। अर्को तर्फ हुलकी सडक बनाइदिने बहानामा नेपाल सिमा भित्र नै दक्षिण बहने पानीलाई रोक्ने प्रयास गरेको देखिन्छ । सडक अपरिहार्य छ तर सडक निर्माण गर्दा पर्याप्त मात्रामा र आबश्यक साइजका निकासहरु निर्माण गरियन भने त्यसले ठुलो बिपत निम्त्याउछ र अहिले त्यस्तै भईरहेको देखिन्छ। सिमानामा निर्माण गर्ने त्यस्ता संरचनाहरु बनाउदा दुई देश बिच सहमती हुनुपर्ने हो तर त्यसो भएको छैन । भारतले एकतर्फी रुपमा बाँध वा इम्ब्याङ्क्मेन्ट निर्माण गरिरहेको छ भने नेपाल सरकारले कुनै कुटनितिक बिरोध जनाउन सकेको छैन।

काठमान्डौ

काठमान्डौ उपत्यका भएको हुनाले चारैतिरका पहाडबाट पानी शहरतिर नै बग्ने गर्दछ । उपत्यका भित्र रहेका कयौ खोला र खोल्साहरुबाट उक्त पानी निकास सम्म पुग्ने हो तर के भयो भने ती प्राकृतिक निकासहरुलाई मानव निर्मित संरचनाहरुले अतिक्रमण गरेर सकेको खुम्च्याउदै कतिपय ठाँउमा त अस्तित्व बिहिन पारीएको छ। एकातिर जलबायु परिवर्तनको असरले अनेपेक्षित बर्षा हुने अर्को तर्फ बहनको लागी पानीलाई बाटो नहुने अवस्थामा पानी शहर तिर छिर्नु को बिकल्प छैन। तिब्र शहरीकरणका कारण काठमान्डौमा इन्फिल्ट्रेसन क्षमता निकै घटेको छ जसको कारण पानी जमिन भित्र छिर्न पाउदैन र सतहमा बगिरहन्छ। शहरी क्षेत्रमा जम्माहुने बर्षातको पानी निकासको लागी पर्याप्त ढलहरु छैनन जती छन ती पनि आबश्यक साइजमा डिजाइन भएको छैन। अब्यबस्थित निर्माणकार्यले गर्दा भईरहेका ढलहरुमा ग्रेगर जमेर क्षमता घटिरहेको छ भने प्लास्टिकको अनियन्त्रित प्रयोग र बिसर्जनले गर्दा कयौ ढलहरु कि त बन्द भएका छन की तिनिहरुको क्षमता घटिरहेको छ। यी सबै हाम्रै कारणबाट सिर्जित समस्याहरु हुन । भबिष्यको बारेमा नसोच्ने हाम्रो व्यबहारले गर्दा अहिले आँफैलाई नराम्रो सँग सताइरहेको छ ।

के गर्नु पर्ला त ?

पहाडी क्षेत्रमा भइरहेको वनजंगलको संरक्षण गर्दै नांगा डाँडाहरूमा सामुदायिक वन सिर्जना गर्न उत्प्रेरणा गर्नु जरुरी छ। ग्रामीण सडक निर्माण गर्दा कम्तीमा इन्जिनियर र भूगर्भविद्को सल्लाह अनिवार्य गर्नु जरुरी छ। पहिरो रोकथामको लागि उचित बायो इन्जिनियरिङ र अन्य संरचना सुरुदेखि नै निर्माण गर्नु आवश्यक छ।

नदी नियन्त्रणका लागि जथाभावी र आवश्यक अध्ययन नगरी रिटेनिङ वाल र ग्याबियनजस्ता संरचना निर्माण गर्दा झनै उल्टै क्षति बेहोर्नुपरेकाले आवश्यक निर्देशिका बनाउन जरुरी छ। पहाडका खहरे खोलामा साबो ड्याम (चेक ड्याम) निर्माण गरी पहाडी क्षेत्रको ढुंगा माटो तथा ग्रेगर तल्लो तटीय क्षेत्रमा प्रवाह हुनबाट रोक्न सकिन्छ। ठूला नदीहरूमा जलाशययुक्त विद्युत् आयोजनाहरूका बाँध बनाउँदै ठूलाठूला बाढीको प्रभाव कम गर्न सकिन्छ। इन्टर बेसिन पानी प्रवाह गर्ने ठूलाठूला आयोजना बनाउँदै बाढीको आवश्यक नियन्त्रण गर्ने उपाय पनि प्रचलनमा छ।
च्छो रोल्पा तालमा गरेको पानी निकासको कामले उक्त तालको तल्लो तटीय क्षेत्रमा सम्भावित दुर्घटना टारेको छ। हिमतालहरूको विस्तृत अध्ययन गरेर सम्भावित दुर्घटनाको चरणमा रहेका तालहरूमा सुरक्षित निकासको प्रबन्ध गरी फुट्नबाट जोगाउन आवश्यक छ।
अल्पकालीन आयोजनाहरूमा सम्भावित नदी कटान क्षेत्रहरू पहिचान गर्दै उक्त स्थानहरूमा पुनः प्रयोग गर्ने किसिमका रबर ड्याम, प्रिकास्ट कंक्रिट पर्खालहरू, खाली ड्रम, ढ्वाङ वा जुट बोराहरूमा बालुवा वा माटो भरेर छेकबार लगाउने, बाँस, निगालो वा अन्य बुट्यान प्रयोग गरी छेकबार तयार गर्नेजस्ता काम गर्न सकिन्छ। युरोपका कतिपय देशहरूले नदीकिनारमा रहेका ठूलाठूला खेतलाई केही दिनका लागि पानी संकलन गर्ने रिजर्भोयरको रूपमा प्रयोग गर्दै किसानलाई सोवापत पैसा दिने गर्दछन्। हामी पनि त्यस्ता सम्भावित ठाउँ पहिल्याउँदै यस्तै उपाय गर्न सक्छौं।
नदीजन्य पदार्थको अनियन्त्रित दोहनलाई व्यवस्थित पार्नु आवश्यक छ। कुन समयमा कती मात्रामा गिट्टी-बालुवा निकाल्ने हो प्रस्ट पार्नु जरुरी छ। नदी किनारमा बन्ने नयाँ बस्ती कडाइका साथ कम्तीमा दुई सय वर्षमा दोहोरिने बाढीको सतहभन्दा माथि बनाउनुपर्ने बाध्यत्मक नियम बनाउनुपर्छ। जोखिमपूर्ण मात्राको बाढी नदीहरूमा आउँदा नजिकका बस्तीहरूमा चेतावनी दिने साइरन जडान गर्दै आवश्यक उद्धारका संयन्त्र (जस्तै एम्बुलेन्स र प्राथमिक उपचारका साधन) तयारी अवस्थामा राख्नु आवश्यक छ।
तराईका मुख्य मुख्य डुबान हुनसक्ने क्षेत्रहरूलाई लक्षित गर्दै आस्थायी टहराहरू निर्माण गर्ने, सुरक्षा निकाय र हेलिकोप्टर सेवालाई तम्तयार अवस्थामा राख्ने, परेको अवस्थामा हेलिकप्टरबाटै उद्धार सामग्री वितरण गर्नेजस्ता अल्पकालीन उपायहरूले जनधनको क्षति न्यूनीकरण गर्न मद्दत गर्छ। अहिले जल तथा मौसम विभागले तीन दिन पहिला नै सूचना दिन सक्ने प्रविधि सुरु गरिसकेको अवस्थामा तराईका धेरै क्षेत्रका बस्तीलाई आवश्यक परेमा सोहीअनुसार खाली गराउन सकिन्छ। बाढीपीडितलाई सरकारले तत्काल राहतस्वरूप बीस-पच्चीस हजारको दरले पैसा बाँड्ने तर दीर्घकालीन समाधानका उपाय लागू नगर्दा प्रत्येक वर्ष एउटै समस्या भोग्दै आइरहेका छौं। अब यो तरिकाले हुँदैन त्यसैले सरकारले अल्पकालीन र दीर्घकालीन समाधानका उपाय तर्जुमा गर्दै दिगोरूपमा समस्या समाधान हुने गरी ती आयोजना लागू गर्नु आवश्यक छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

Mobile Sliding Menu

Himalayamail.com