मुम्बई। बलिउडका एक चर्चित अभिनेता सुशान्तसिंह राजपुतका पिता केके सिंहले रिया चक्रवर्ती विरुद्ध भारतको पटना प्रहरीमा उजुरी दिएका छन् । सुशान्तकि प्रेमिका भनिएकी रियाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सुशान्तका बुबाले उजुरी दिएका हुन्।
भारतीय संचार माध्यमहरुका अनुसार सुशान्तका बुबाले पटनामा उजुरी दिएपछि आरोपित रियाले उक्त मुद्दा मुम्बई प्रहरीले नै छानबिन गर्नुपर्ने माग गर्दै भारतको सर्बोच्च अदालतमा एक निबेदन दर्ता गरेकी छिन। तर पटनाका प्रहरी अधिकृतले भने आफ्नो छानबिन शुरु गरिसकिएको बताएका छन्। ‘चारजनाको समूह मुम्बई पठाइसकेको छ । समूहले त्यहाँ महत्वपूर्ण कागजात संकलन गर्नेछ,’ पटना प्रहरीका अधिकृत संजय सिंहले भनेका छन् ।
पछिल्लो समय रियाले ट्वीटरमा आफूलाई सुशान्तको मृत्युको दोष लगाउँदै बलात्कारको धम्की आएको भन्दै गृहमन्त्रीसमक्ष कारबाही माग गरेकी थिइन् । ‘म सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती हुँ । सुशान्तको अकस्मात मृत्यु भएको एक महिना भइसक्यो । मलाई सरकारमाथि पूरा विश्वास छ । यस घटनाको सीबीआई छानबिनका लागि आग्रह गर्छु,’ उनले ट्विटमा लेखेकी थिइन् ।
सुशान्तले गत जुन १४ मा बान्द्राको आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए। अनुसन्धानका क्रममा यो मुद्दामा ४० भन्दा बढी व्यक्तिहरुको बयान लिइसकेको छ । फिल्मकर्मी सञ्जयलीला भन्साली, आदित्य चोपडा, महेश भट्ट, करण जौहरको धर्मा प्रोडक्सनका सिइओ अपूर्व मेहतालगातको बयान प्रहरीले लिइसकेको छ। सुशान्तको आत्महत्यापछि विवादमा तानिएकी उनकी प्रेमिका रियाको बयान पनि गत महिना मुम्बई प्रहरीले लिएको थियो ।