लण्डन। बेलायतमा नेपाली गोरखा सैनिकहरुलाई समान पेन्सन लगायतका कुरामा विभेद गरेपनि गोर्खाहरुको बहादुरी र अतुलनिय योगदानको भने प्रसंशा गरिदै आएको छ। त्यसैले उक्त योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरेको हो।
बेलायतका ट्रेजरी मन्त्री जोन ग्लेनले अर्थमन्त्री (चान्सलर )ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा जानकारी दिएका छन्।
हालसम्म श्वेत अर्थात् गोराजाती बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीरअङ्कित सिक्का ननिकालिएको जनाइएको छ । सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव रोयल मिन्समा पेश गरिएको पनि ट्रेजरी मन्त्री जोन ग्लेनले बताए । रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो । यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्ने बताइन्छ।
बेलायती सेनामा अतुलनिय र प्रसंशनीय योगदान गरे बापत् यहाँको प्रतिष्ठित भिक्टोरिया क्रस (भीसी) पदक विजेता गोर्खालाई त्यस्तो सूचीमा राखिएको पनि बताइएको छ। यसबाट गोर्खा सैनिक , तिनका परिवार र सम्पूर्ण नेपाली समुदायले नै गौरबको महशुस गरेका छन्।