बेलायतको दोस्रो चार्टर उडान नेपाल पुग्यो : अन्य देशका अलपत्र नेपालीको उद्धार हुँदै

काठमाडौँ । बेलायतबाट ८३ जना नेपालीहरु लिएर नेपाल उडेको दोस्रो चार्टर उडान शनिबार बिहान काठमाडौंमा सकुशल अवतरण गरेको छ। लण्डनको ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार दिउसो उडेको जजिरा एयरलाइन्सको सो बिमान कुवेत ट्रान्जिट हुँदै शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

बेलायतमा कोरोना ( कोभिड-१९) महामारी र लकडाउनका कारण बिगत ३ महिना भन्दा बढी समयदेखि अलपत्रमा परेका नेपालीहरु लिएर उक्त चार्टर बिमान उडेको थियो। लकडाउनका कारण बेलायतमा फसेका र रोजगारी गुमेर बिचल्लीमा परेका नेपालीको उद्धार गर्न चार्टर गरिएको उक्त दोस्रो बिमान ‘ए–३२० एयरबस’ शुक्रबार सिट क्षमता भन्दा करिब आधा मात्र यात्रु लिएर उडेको थियो।

यसैबीच , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।

नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली काठमाडौँ ल्याइरहेका छन् भने आन्तरिक उडानको श्री एयरले पनि छोटा गन्तव्यबाट केही चार्टर्ड उडान गरिरहेको छ ।

त्यस्तै विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, जजीरा एयर, टर्किस एयर, कोरियन एयरलगायत एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजीरा एयरले चार्टर्ड उडानमार्फत नेपाली ल्याउँदैछन् ।

आज बिहान ८ः३० बजे हिमालय एयरलाइन्सले अबुदाबीबाट नेपाली ल्याएको छ भने जजीराले ८ः४८ बजे कुवेतबाट नेपालीको उद्धार गरेको छ । त्यस्तै नेपाल एयरलाइन्सले विहान १०ः३० बजे साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याउँदैछ । सोही एयरलाइन्सको जहाजले अष्ट्रेलियाको मेलबर्नबाट नेपाली काठमाडौँ ल्याउने विमानस्थलले जनाएको छ ।

अन्तराष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । शुक्रबार मात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको छ । त्यसअघि असार ६, ७ र ८ गते समान १०, असार ९ र १० गते १४ र असार ११ गते १५ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । उल्लेखित उडान यात्रु चार्टर्ड तथा केही कार्गो उडान हुन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com