कोरोना भाइरस ( कोभिड-१९ ) चीनबाट शुरु भएपनि यसको प्रभाब संसारभर नै र बेलायतमा पनि शुरु हुन लागिसकेको थियो। एउटी सिनियर नर्सको रुपमा मा साउथ इस्ट लन्डनको क्विन एलिजाबेथ हस्पिटलमा कार्यरत थिए र अझै कार्यरत छु। हस्पिटलमा कोरोना र कोरोनाको सम्भावित/संकास्पद (सस्पेक्टेड )बिरामीहरुको ओइरो लाग्न थाल्यो। म काम गर्ने वार्डमा ६५ वर्षभन्दा माथिका बिरामीहरु मात्र हुन्छन , जसलाई ‘एक्युट मेडिकल एल्डरली वार्ड’ भनिन्छ।
एकदिन बिहानै म घरबाट काममा जान लागेको थिए। मेरो ८ बर्षको कान्छो छोराले म प्रति चिन्ता ब्यक्त गर्दै भन्यो – ” ममी कोरोनाको कारण ले धेरै मान्छे मरिरहेका छन्। यो अति डरलाग्दो सरुवा रोग हो रे ! तपाईं फेरी त्यस्तै कोरोनाको बिरामी भएको हस्पिटलमा काम गर्नु हुन्छ। काममा नगए हुदैन ?” मैले छोरालाइ सम्झाउदै मेरो काम सुरक्षित भएको र त्यस्तो केहि नहुने भन्दै नडराउन भने। अनि छोरालाई स्कुलमा बरु आफु चै सुरक्षित भएर जान , बेला बेलामा साबुन पानीले हात धोइराख्नु भनि सम्झाए। त्यसबेला सम्म बेलायतमा लकडाउन भएको थिएन। छोरालाइ तयारि भएर स्कुल जान सम्झाउदै म काममा गए।
काममा अकस्मात दिउसोतिर मेरो छोराको स्कुलबाट फोन आयो। आत्तिदै फोन उठाए – उताबाट स्कुलको हेडटिचरले फोनमा कुरा गर्दै आत्तिने कुरा केहि छैन, बरु तपाइलाई कस्तो छ भनेर सोध्नुभयो। मैले मेरो त सबै ठिकै छ , छोराको के छ नि भनि सोधे। हेडटिचरले छोराको सबै ठिक रहेको बताउदै छोराले क्लास टिचरलाइ मेरो मम हस्पिटलमा कोरोनाका बिरामीसंग काम गर्नुहुन्छ र मलाइ मेरो ममको सारै चिन्ता लागिरहेको छ भनेर भनेको रहेछ। मैले मेरो वार्डमा अहिलेसम्म कोरोनाको बिरामी नआइसकेको र आफु सुरक्षित रहेको बताउदै फोनका लागि धन्यबाद दिए। हेडटिचरले अहिलेका केटाकेटी ‘स्मार्ट ‘ रहेको र कोरोना लगायतका सबै समाचारको बिषयमा ज्ञान राख्ने बताउदै फेरी पनि सुरक्षित भएर काम गर्नु भन्दै फोन राख्नुभयो।
मेरो श्रीमान् त्यसबखत नेपाल जानु भएको थियो। उहा संग दिनहु जसो कुरा हुन्थ्यो। उहाले सधै नै सुरक्षित बस्नु , आफ्नो र छोराहरुको ख्याल गर्नु ,आत्मबल उच्च राख्नु भनेर हौसला प्रदान गरिरहनु हुन्थ्यो। अब लण्डनमा बिस्तारै कोरोनाको बिरामी बढ्न थाले। लकडाउन हुने हल्ला चल्न थाल्यो। श्रीमान् नेपालमै रोकिनुहोला कि भन्ने चिन्ता लाग्न थाल्यो। तर लकडाउनको अघिल्लो दिन श्रीमान् नेपालबाट लन्डन फर्किनु भयो। अब अलि ढुक्क लाग्यो।
एकदिन मेरो वार्डमा एकजना राम्ररी बोल्ने, हास्ने , हसिलो अनुहारको छातीमा संक्रमण (चेस्ट इन्फेक्सन ) को बिरामी भर्ना भए। काम सिध्धिने बेलामा ‘ह्यान्डओभर’ दिए। सबै नर्मल नै थियो , काम सकेर घर गए। भोलिपल्ट फेरी काममा फर्किए – त्यो हिजोको बिरामीको अवस्था अलि खराब भएको ‘ह्यान्डओभर’ पाए। उच्च ज्वरो आएको र अक्सिजन पनि शुरु गरेको पाए। हिजोको भन्दा बिरामीको अवस्थामा अलि जटिलता देखे। डाक्टरहरु संग मिटिंग भयो , सबैले अब कोरोनाको टेस्टको लागि ‘स्वाब ‘ लिने र जाच्न पठाउने निर्णय भयो। साथै सबैले पन्जा, मास्क लगायतका पीपीइ लागाउने निर्णय भयो। उपचारको प्लान नै फरक ढंगले गर्ने निर्णय भयो। त्यसरीनै काममा दिनभर ब्यस्त भएको थाहा नै पाइन। काम सकेर ड्रेस फेरेर घर जानलाइ गाडीमा आएर बसे तर गाडी चलाउन नै सकिन। मेरो हात खुट्टा लगलग काप्न थाल्यो। केहीबेर आखा चिम्लिएर आफुलाई सम्हाल्न कोशिश गरे। ५/१० मिनेट पछि हिम्मत गरेर गाडी चलाएर घर गए। घर गएर सिधै बाथरुममा गएर नुहाई धुवाई गरेर मात्र परिवार संग भेटे। सबैजना संगै खाना खायौ । खाना खाइ सकेपछि छोराहरु आफ्नो कोठामा गए। मैले श्रीमानलाइ मा आजबाट छुट्टै कोठामा सुत्छु भने। श्रीमान् एकछिन त छक्क पर्नु भयो। तर मैले सम्पूर्ण कुराहरु भनेपछि सजिलै मान्नु भयो। हुन त मेरो श्रीमान् सारै नै सहयोगी र समझदार हुनुहुन्छ। तर पनि त्यो रात हामि फरक कोठामा सुत्नु पर्दा हामि दुबैजनालाइ पिडा भयो। म रात भर सुत्न सकिन , सायद श्रीमान को पनि त्यस्तै हालत भयो होला !
भोलिपल्ट मेरो छुट्टी थियो। लक्डाउन भएकोले श्रीमान् र छोरा हरु पनि सबै घरमै। समाचारमा कोरोनाका कारण मानिसहरुको मृत्यु भएको जसमा बेलायत र अझ स्वास्थ्यकर्मीको पनि खबरहरु लगातार आउन थाली सकेको थियो। म बिहानै उठेर गार्डेनमा गए , लामो स्वासप्रस्वासको एक्सरसाइजका साथै अरु एक्सरसाइजहरु पनि गरे। त्यतिन्जेल श्रीमान् र छोराहरु पनि उठिसकेका थिए। मलाइ परिवारका सदस्यहरुको अगाडी जान पनि डर लागिरहेको थियो। सानो छोरालाई फन्नी तरिकाले सोसियल डिस्टेन्सिङ्ग मा बसौ है भनि सम्झाए। उ अलि सेंसेटिभ भएकोले बुझिहाल्यो , ठुलो छोरा र श्रीमान् त झन् समझदार ! छुट्टीका दिनहरु त्यत्तिकै बिते।
उता काममा मेरो पेसेण्टको कोभिड ‘पोजिटिभ’ रिजल्ट आयो। तर वार्डमा उपर्युक्त पीपीइहरु थिएनन। पब्लिक हेल्थ इंगल्याण्ड को गाइडलाइन्स र एनएचएस प्रोटोकल्स अनुसार हामीलाई सर्जिकल मास्क ,ग्लोब्स र प्लास्टिकको अप्रोंन प्रयोग गर्न भनियो , जुन सुरक्षित थिएन। हामि वार्डका फ्रन्टलाइनका स्टाफहरु सबै त्रसित भयौ। त्यसपछि एकपछि अर्को गर्दै धेरैनै कोभिड ‘पोजिटिभ’का पेसेण्ट हुन थाले। मैले कोभिड ‘पोजिटिभ’का पेसेण्टहरुलाई धेरै नै नजिकबाट उपचार र हेरविचार गरे तर सधै सुरक्षित भएर। अब एकपछि अर्को स्टाफ हरु अफ सिक हुन थाले। मलाई पनि अलि अलि ‘सिम्टम्स’ भएको अनुभब हुन्थ्यो। तर म आत्मा बल सधै उच्च राख्थे।
यता घरमा भने कसरि आफु सुरक्षित हुने भनेर सधै सर सल्लाह हुने गर्थ्यो। काममा जे भएपनि घरमा सबै ठिक छ भन्थे। हस्पिटलको डिउटी सिध्याईसकेपछि मेरो अर्को डिउटी शुरु हुन्थ्यो – घरको। घरमा पनि हात धोइराख्ने , ह्यान्ड स्यानीटाइजरको प्रयोग गर्ने र सोसियल डिस्टान्सिंग कायम गर्ने भन्ने शब्द सुन्दा सबै जना मलाइ हेरेर हास्थे। एकदिन खाना खाने बेलामा श्रीमान ले यदि हामीलाई कोरोना भएर केहि भएमा के गर्ने ? कसरि लाइफ मुभ अन गर्ने भन्ने ? भन्ने बिषय निकाले पछि सबैजना स्तब्ध भए। म केहि बोल्न सकिन , ठुलो छोरा भाबुक भयो , सानो छोरा चुप लागेर बस्यो। एकछिन बाताबरण नै सुनसान भयो। अनि मैले अर्कै बिषय निकालेर कोरोना संग लड्न त हामि सबै सक्छौ भनि सबैको मनोबल बढाए।
मेरो ठुलो छोरा बेला बेलामा भाबुक हुने गर्थ्यो। अनि म बिषय परिवर्तन गरिहाल्थे। सधै बिहानै सबैजना तातोपानी पिउने गर्थ्यौ। हल्का एक्सरसाइज अनि पर्याप्त फलफुल र तरकारी अनि ब्यालेन्स डाइट। म आफु भने ज्वरो आएको अनुभब भयोकि परासिटमोल खान्थे। कागती पानी , बेसार पानी , जिरा , अदुवा आदि राखेर तातो पानी दिनहु जसो पिउथे।
कोरोनाबाट मृत्यु भएका धेरै पेसेन्टहरुलाई अन्तिम अबस्थासम्म हेरविचार गरे। यस अवधिको मृत्यु अरू रोगका कारणले हुने मृत्यु भन्दा धेरै पिडादायक अनि भयानक महसूस गरे । बिरामी आफै उनका परिवार,नजिकका आफन्तहरूका लागी सार्है असहिय तथा अबस्मरणिय हुन गयो -मृत्यु ,किनकि आफ्नो अन्न्तिम समयमा आफ्नो नजिकका प्यारा कोहि पनि साथमा नहुने, सबै बाट टाढा भएर एक्लै असहाय भएर देह त्याग गर्नु पर्ने बाध्यता , त्यसमाथि मलामी पनि नहुने ! यो समयमा बिरामी का लागी आफ्ना मान्छे भनेकै हामी फ्रन्ट लाईनर्स हौ । त्यस माथी पनि जब बुढा बुढि हरूका पिडाका प्रत्यक्षदर्शी हुदा असहिय अनि आफै भावविहीन हुन बाध्य हुन्छु म ! साथै मृतकको मृत्यु जति पीडादायक हुन्थ्यो त्यति नै आफन्तहरुको हालत। उनि हरुलाई फोन बाटै सबै कुरा भन्नु पर्थ्यो। भन्न सारै गारो हुन्थ्यो तर आफ्नो काम नै त्यस्तै। बिरामीहरुको आफन्त , परिवार , हेरविचार गर्ने जे भने पनि हामि नै हुन्छौ।
अहिलेसम्म मलाई यसरि बिरामीको सेवा गर्न, कोरोना महामारिसंग लड्न र आत्मबल बढाउन सदैब साथ् दिनुहुने मेरा श्रीमान प्रति कृतज्ञ छु। साथै सबै साथिभाइ र आफन्तहरुलाई पनि धन्यबाद दिदै यस महामारीको बिरुद्ध आत्मबलका साथ लड्न र सुरक्षित रहन आग्रह गर्दछु। फेरी पनि सरसफाई र सोसल डिस्टेन्सिङ्गमा ध्यान दिनु हुन सबैमा अनुरोध गर्दछु। काममा मात्र होइन , घर परिवारमा समेत कोरोना संक्रमणबाटसुरक्षित हुने तरिकाहरु अपनाउ। आफु पनि बाचौं र अरुलाई पनि बचाऊ।