'मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन'

थानेश्वर सापकोटा

त्यो माओबादी जनयुद्दको दोस्रो बर्ष थियो सायद । रोल्पा रुकुमतिर पुलिस चौकी सँगै कांग्रेस कार्यकर्ता माओवादी निसानामा पर्दै थिए । एमाले एक हिसाबले खुशी नै थियो ! उसलाई लाग्थ्यो नेपाली कांग्रेस नसकिए सम्म वा देशको सबै भन्दा पुरानो पार्टी शिथिल नभए सम्म आफुहरुको सत्ता यात्रा त्यती सहज हुने छैन । गाउँमा एमाले रित्तिदै थियो, माओवादीमा प्रवेश गर्ने कार्यकर्ताहरुको लर्को थियो । त्यसैले प्रतिस्पर्धी पार्टी कमजोर बनाउन उ चुप्प बसे मात्रै पुग्थ्यो, कांग्रेस सकिन लागे मात्र बल्ल बराबरीमा पुग्थ्यो एमाले । कांग्रेसमा पनि त्यस्तो रौनक थिएन। छत्तिसे र चौहत्तरेको प्रभाव टोलटोलमा थियो, पजेरो काण्डले पुराना कांग्रेसहरुको मथिंगल हल्लाएको थियो । माओवादी त के कुनै पनि प्रकारका बिपक्षीहरु सँग लड्न सक्ने अवस्थामा कांग्रेस कार्यकर्ता थिएनन । पहाडी जिल्लाबाट या त कांग्रेस कार्यकर्ता बिस्थापित भएका थिए या पार्टी त्यागेको सहिछाप गरेर अनाम बसेका थिए । त्यही बेला गिरिजा प्रशाद कोइरालाले शुरु गरे संगठन सुदृढिकरण अभियान । जसमा केन्द्रिय तह सम्म पुगेका नेताहरुको टोली बनाएर जिल्ला जिल्लामा पठाएइएको थियो । हाम्रा तिलक दाईको संयोजकत्वमा रोल्पाका लेखनाथआचार्य प्युठानका लागि खटिए । लेखनाथ आचार्यले पछी रोल्पा बाट चुनाव पनि जित्नु भो प्रतिनिधि सभाका लागि । लेखनाथ आचार्यलाई उतै प्युठान तिर भेट्ने मेसो मिलाएर हामी एकाबिहानै गैंडाकोटबाट पश्चिम हान्नियौं । तिलक दाई, टिकाराम र म ।

अस्ती बेलुका काठमाण्डौंमा- सुशिल कोइराला सँग यो मेरो तेस्रो भेट थियो, उस्तै हिसाबको- बिहानको चार बजे संपर्क कार्यालय महाराजगन्ज । म पुगेको एक्कैछिन पछी मात्र मर्निङवाक बाट बुढा आइपुग्थे, त्यतिबेला सम्म बडेमानको कुकुर डरलाग्दो तरिकाले भुक्थ्यो र फलामे गेट हल्लिने गरी उफ्रिन्थ्यो । सुशिल कोइराला यसैमा आदी थिए, भेटघाट गर्नेहरु पनि समय र वातावरण सँग साटिदै जान्थे । त्यही बिहान थाहा भो तिलक दाइ जाने जिल्लाका बारेमा । “म पनि जान्छु होला”- मैले भने । युवाहरु कांग्रेसमा लागेको देख्दा यिनको मन प्रफुल्ल हुन्छ अरे- बुढा मुसुक्क हाँसे- “अब युवाहरुले नै चलाऊन पर्छ पार्टी” !

हामी भालुवाङमा टिनको छानो भत्केको हाइवे होटलमा भात खाएर उकालीदा घाम ढल्किसकेका थिए । होटलका कुर्सीहरुका पत्र पत्र निस्किएका थिए, टेबुल फोहोर थियो, अल्ली अघी खाना खानेहरुले छरेको जुठो भात सफा भएको थिएन । हामी बसेपछी एउटा इत्रुको केटोले टेबुल सफा गर्दै सोध्यो- “के लिनुहुन्छ ? मासु भात कि सादा” ? अगाडि काउण्टरमा एउटी अधबैंशे महिला थिइन, अली अली मोटी, ठुला ठुला गाजल लगाइएका आँखा र आँखा मुन्तिर पुक्क निस्केका गाला । ति या त जिब्राले थुक लगाएर पैसा गन्थिन या सडकमा हुँइकिने मोटरहरुको गती नियाल्थिन । हामी बसुन्जेल कुनै पनि ग्राहक तिनको होटलमा छिरेन । “माथि बाङ्गेसाल पुगेर चिया खान पर्छ केटा हो”- तिलक दाइले चुरोटको एक कस तानेर ख्वाक ख्वाक खोक्नु भो । “बुढाको आधा फोक्सो चुरोटले थिलो थिलो परेको छ”- टिकारामले भने । हामीले हिसाब गर्दा तिलक दाइले कम्तिमा ८ हजार मिटर लामो चुरोट तानी सक्नुभएछ उफ । “क्यारु छोड्न सकिन”- अघिल्लो सिटबाट तिलकदाइको मसिनो आवाज सुनियो । ढुङ्गे गढी, तिराम र राम्दी छिचोल्दै कारीब चार बजे प्युठान हस्पिटल पुग्दा मुन्तिर पट्टी जस्तापाताले बारेको एउटा चिया पसलामा भेट्टिनु भो प्युठान कांग्रेस सभापति दिवाकर गौतम र लेखनाथ आचार्य । दुबैजना निकै भद्र-सालीन । हामी सबैले फेरी चिया सुर्क्याएर बिजुवार लाग्यौ अली माथि । केही मान्छे सँग भेट्नु थियो शायद- भोलिको कार्यक्रमका लागि । राती सबैजनाको बास दिवाकर गौतमजीको घरमै भयो, दाखाक्वाडी । चिटिक्क परेको दुइतले घर, उँधो पट्टी मसीना खेतका गह्रा, माथि बिस्तारै उकालीदै गएको पहाड र झांगिएका कागतीका बुटा । दिवाकर गौतमजीको हामी बसेको त्यो घरमा पछी माओवादीले आगो लगएछन, अनाज लुटेछन र बारीमा झण्डा गाडेछन । बुढाहरुको रातभरी छलफल भएछ, टिकाराम र म निदायौं । बिहान हामी उठ्दा उहाँहरु उस्तै आसनमा छलफलमै हुनुहुन्थ्यो । “तपाइहरु त सुत्नु भएनछ”- मैले भने । “पार्टीलाई चुस्त बनाउन सके सुत्ने दिन पनि आउलान नि”- दिवाकरजीले फेरी चिया चुस्की लगाउनु भो । बुढाहरु दिनभरी बिजुवारको कार्यक्रममा भए । भात खाने मौकै मिलेन उनिहरुलाई । बिजुवारको कार्यक्रम सकेर हामी उकालीनु पर्ने थियो, सकेसम्म रात नपर्दै बर्जीवाङ पुग्न पाए सुरक्षित हुने अड्कल हुँदो हो सबैको । तर त्यस्तो भएन । साँझ पर्नै लाग्दा बल्ल हामी हिड्यौ । हिंड्ने बेला कसैले भन्यो- “भो आज यतै बस्नुस् । रातिमा अली खतरा हुन्छ” । बुढाहरुले मानेन, संगठनको जुनन थियो । हाम्रो गाडीलाई पुलिस चौकीमा राखेर हामी हिड्यौ ।

ठाडो उकालो छिचोलेर माथि नेटामा पुग्दा साँझको ८ बजिसकेको थियो, धन्न जुनेली रात थियो । तिलक दाइको खुट्टो मर्केर हिंड्नै नमिल्ने भएको थियो तलै, बुढा यहाँँ सम्म कसरी आइपुगे हामी चकीत पर्यै । मैले बोक्छु भने पनि बुढाले मानेनन । रातिको साढे १० बजे होला ढुक्क फुलेको मुटु लिएर हामी बर्जीबाङ पुग्यौ । यो ठाँउमा माओवादी गतिबिधी बढ्दो थियो । खै कुन्नी कसको घरमा हो केही कार्यकर्ता हामीलाई कुरेर बसिरहेका थिए, त्रसित । रातभरी र बिहानको पहिलो प्रहरमा बर्जीवाङको कार्यक्रम सक्नुपर्ने रहेछ उहाँहरु रातभरी छलफल मै बस्नु भो- एक प्रकारको प्रशिक्षण । बिहानको ४ बजे होला हामी सबै एक्कै छिन सुत्यौं । उठ्दा थाहा भो दिनभरी बाटोमा पर्ने केही गाँउहरु र बेलवासमा कार्यकर्ता भेटघाट गरेर राती सम्म भिङ्री झर्ने कार्यक्रम बनेछ । त्यस्तै गर्यौं, टिकाराम र म रोमान्चित नै थियौं तर तिलक दाई, दिवाकरजी र लेखनाथजी भिंग्री झर्दा सम्म लखतरान परे पनि उनिहरुको रातभरी कार्यक्रम चलिरह्यो । हामी सुत्यौं, बुढाहरु सँग जोडकोतोड गर्न सकिएन । भोली दिनभरी पनि उहाँहरुको कार्यक्रम चलिरहह्यो ।

चौथो दिन हामी भिङ्रीबाट प्युठान सदरमुकामका लागि हिड्यौ । टिकाराम र म भन्दा बुढाहरु बढी उत्साहित थिए, जिल्लामा पार्टीका सानातिना समस्या थिए जुन उनिहरुले सुल्झाएका थिए । उनिहरुको पार्टी प्रतीको लगाव कस्तो थियो भने सुत्न नपाए सुत्दैनथे, खान नपाए भोकै बस्थे, चोट लागे खट्न सक्थे उफ्फ । त्यसै दिन मलाई लाग्यो मैले कहिल्यै राजनीति गर्न सक्दिन । हामी सदरमुकामबाट तल ओर्लिदा साँझ परिसकेको थियो । झिम्रुक हेर्ने मेरो चाहना पुरा भएन । झिम्रुक जलबिधुत योजना शुरु भएको थियो भर्खर, मलाई हेर्न मन थियो । तर के भयो भने हाम्रो गाडी सुलुलुल्ल बग्यो । अब बाँचिन्न जस्तो लाग्यो । तिलक दाइले राम राम भनेको सुने, गाडीको उज्यालोमा तलपट्टी बडेमानको खाल्टो देखियो । यो खाल्टोमा खसेपछी हाम्रो शरीरका हजार टुक्रा पर्न सक्छन, बाँच्ने त कुरै छोडौ । हे राम ! खाल्टो भन्दा अलिकती माथि गाडी रोकियो, हामीले लामो सास फेर्यौं- झिम्रुकका माछाले हामीलाई खान पाएनन । त्यो रात हामी दिवाकरजीको घर दाखाक्वाडी मै बास बस्यौं । रातभरी निद्रा परेने, मृत्‍यु र जिन्दगी बिचको इत्रुको डोरो देखेर आएका थियौं हामीले । मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन । भोलीपल्ट बिहान हामी तराई झर्यौं, स्‍मृति कतै झर्न सकेन- दाखाक्वाडीबाट तल ओरालो सम्म हामीलाई नियालिरहेका दिवाकर गौतमजीका मलिना आँखा हाम्रा आँखामै बसिरहे- कांग्रेसका आँखाले देख्न सकेन । अहिले दुर दराजबाट हेर्छु दिवाकरजी, लेखनाथजीहरु माओवादीका बन्दुक छलेर बाँचे पनि गुमनाम छन- कांग्रेसले खोजेकै छैन । तिलक दाईका पाखुरामा तरान सकिएको छ- किन चाहियो र निर्बल कार्यकर्ता कांग्रेसलाई । कती होलान देशभरी दिवाकर गौतम, लेखनाथ आचार्य र तिलक सापकोटाहरु ।

(बरिष्ठ पत्रकार सापकोटा ‘गुमनाम परदेशी’का नामले समेत चर्चित हुनुहुन्छ र हाल बेलायतमा बसोबास गर्नुहुन्छ। )

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com