सभामुखको भ्रमणमा २७ जनालाई भत्ता

काठमाडौं : संघीय संसद्का पदाधिकारी (सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष)ले आर्थिक वर्षको ६ महिनामै जिल्ला र अन्य भ्रमणमा लाखौं खर्च गरेका छन्। पदाधिकारी भ्रमणमा कर्मचारीलाई जथाभावी भ्रमण भत्ता उपलब्ध गराउँदा ६ महिनामै कर्मचारीको भत्तातर्फको बजेट सकिएको छ।

एक जना पदाधिकारीको एक पटकको भ्रमणमा २७ जनासम्म कर्मचारीले भ्रमण भत्ता बुझेको संसद सचिवालय स्रोतले बताएको छ। संसद्का पदाधिकारीहरूले महिनामा तीन पटकसम्म आफ्नो जिल्ला भ्रमण गरेको स्रोतले बतायो। सभामुख कृष्णबहादुर महराको जिल्ला भ्रमण भत्ता, जहाज भाडा र इन्धनमा ३ लाख ५८ हजार १३ रुपैयाँ खर्च भएको छ।

सभामुखको भ्रमणमा ठूलो संख्यामा उनको सचिवालयबाट कर्मचारी र सहयोगीले पनि भत्ता बुझेका छन्। असारदेखि पुससम्म पदाधिकारीको भ्रमण भत्तामा झन्डै १२ लाख (सचिवालय, सहयोगी र कर्मचारीबाहेक) खर्च भएको सचिवालयले जानकारी दिएको छ। 

‘सम्मानीयज्यूहरूले एक पटक भ्रमण गर्दा उहाँहरूको सचिवालय र कर्मचारीका नाममा २७ जनासम्मले भ्रमण भत्ता बुझ्ने गरिएको छ’, सचिवालय स्रोतले भन्यो, ‘एक जना पदाधिकारीका लागि बढीमा चार जना भए पुग्नेमा जथाभावी भत्ता वितरण गर्ने गरिएको छ।’ जिल्लाको सुगमताअनुसार पदाधिकारीले दैनिक भ्रमण भत्ता पाउँछन्।

सभामुख महराले ६ महिनामा ९ पटक जिल्ला भ्रमण गरेका छन्। उनले पाँच पटक दाङ र रोल्पा भ्रमण गरेका छन्। सचिवालय स्रोतका अनुसार महराको एक पटकको जिल्ला भ्रमणमा उनको सचिवालय, कर्मचारी र सहयोगी भन्दै २७ जनाले भ्रमण भत्ता लिएका छन्।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले ६ महिनामा १९ पटक जिल्ला भ्रमण गरेका छन्। अध्यक्ष तिमिल्सेनाले महिनाको तीन पटकसम्म गृहजिल्ला कास्कीको भ्रमण गरेको सचिवालयका अधिकारीहरू बताउँछन्। अध्यक्ष तिमिल्सेनाको भ्रमण भत्ता, इन्धन र जहाज भाडामा ३ लाख १३ हजार ६ सय ४ रुपैयाँ खर्च भएको सचिवालय स्रोतले बतायो। ‘अध्यक्षज्यूको एक पटकको भ्रमणमा ५ देखि ११ जनासम्म कर्मचारी र सहयोगीले भ्रमण भत्ता लिनुभएको छ’, सचिवालय स्रोतले भन्यो।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले असारदेखि ७ पटक जिल्ला भ्रमण गरेकी छिन्। उनले भदौमा २ पटक, असोज र कात्तिकमा १/१ पटक गृह जिल्ला मोरङको भ्रमण गरेकी छिन्। उनको भ्रमण भत्ता, इन्धन र जहाजमा २ लाख २७ हजार ९ सय २ रुपैयाँ खर्च भएको छ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको जिल्ला भ्रमणमा दैनिक भत्ता, इन्धन र जहाजमा २ लाख ५३ हजार २ सय ९ रुपैयाँ खर्च भएको छ।

पदाधिकारीको भ्रमणमा सचिवालय, कर्मचारी, सहयोगी र सुरक्षाकर्मीले भ्रमण भत्ता लिएका कारण कर्मचारीतर्फको भ्रमणका लागि विनियोजित बजेट ६ महिनामै सकिएको छ। भ्रमणभत्तामा ठूलो रकम खर्च भएपछि सचिवालयले गत पुसमा संसद्का करारका कर्मचारीलाई झन्डै एक सातापछि मात्र तलब दिएको थियो।

अन्नपूर्ण पोष्ट

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com