सबै सम्पत्ति अस्पताललाई

बुढेसकालका लागि सहारा भन्दै धन थुपार्ने र धनकै लागि मरिहत्ते गर्ने चलन समाजमा व्याप्त छ । तर, पोखरा महानगरपालिका ३१ का रेवतीरमण र शान्ता पौडेलले भने सबै जग्गाजमिन एक अस्पताललाई दिएका छन् ।नि:सन्तान दम्पतीले बस्दै आएको घरसमेत अस्पताललाई दिएपछि उनीहरू यतिबेला अस्पतालले उपलब्ध गराएको दुई कोठामा बस्दै आएका छन् । बाबुआमाका एक्ला छोरा रेवतीरमणका एउटै सन्तान जन्मिएनन् । बुढेसकालमा देवघाट जाने योजना बनाएका थिए । २०६० फागुन १७ देखि २४ गतेसम्म लायन्स क्लब अफ लेखनाथले अस्पताल सञ्चालनार्थ महायज्ञ लगायो । स्वर्गीय नारायणप्रसाद पोखरेल प्रमुख वाचक थिए । गाउँ नजिकै अस्पताल खोल्ने उद्देश्यसाथ महायज्ञ लगाएपछि पौडेल दम्पतीको देवघाट जाने सोच बदलियो ।
‘नजिकै अस्पताल खुलेपछि कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने र सामान्य उपचारका लागि पनि पोखरा बजारमा जानुपर्ने बाध्यताको अन्त्य हुने देखेर देवघाट जाने योजना हटाएर सबै जग्गा अस्पताललाई दिएका हौं,’ रेवतीरमणले भने, ‘अहिले अस्पताल राम्रैसँग चलेको देखेर खुसी छौं । सम्पत्ति दिएकोमा कुनै पश्चाताप छैन ।’ दम्पतीले साबिक लेखनाथ नगरपालिका ११ को किमबेसी र पचभैंयामा रहेको १६ रोपनी घरजग्गा अस्पताललाई दिएका थिए । उक्त जग्गाको मूल्य अहिले करिब १० करोड रुपैयाँ पर्छ । त्यसमध्ये घर रहेको ४ रोपनी जग्गा अस्पतालले उतिबेलै १८ लाख रुपैयाँमा बेचेको थियो । महायज्ञका बेला नगद र जिन्सी गरी करिब २ करोड रुपैयाँ संकलन भएको थियो । साबिकको लेखनाथ नगरपालिकाले मोहोरियामा १७ रोपनी प्रतिजग्गा भोगाधिकारका लागि दिएपछि अस्पताल बनाइएको थियो । जग्गाको लालपुर्जाका लागि अस्पतालले अहिले प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख केदारनाथ लामिछानेले बताए ।

सन्तान भएनन् । सम्पत्ति कसलाई राख्ने । समयमै उपचार नपाएर कोही मर्न नपरोस् भनेर अस्पताललाई सबै सम्पत्ति सुम्पेको शान्ताले बताइन् । ‘कोही कसैको करकापमा नभई इच्छाले दिएका हौं,’ उनले भनिन्, ‘सम्पत्तिको अलिकति पनि मोह भएको भए कसले दिन्थ्यो र ।’ सबै सम्पत्ति दिंदा बुढेसकालमा दु:ख पाउँछन् कि भनेर आँसुसमेत झारेका छिमेकी अहिले भने अस्पतालले राम्रैसँग पालेको देख्दा खुसी भएको उनले बताइन् । २०६५ मा अस्पताल भवन बनेर सेवासमेत सुरु भएपछि अस्पतालले दम्पतीलाई भवनको सबैभन्दा माथिका दुई कोठा दिएर राखेको छ । जग्गा दिनेबैलै भएको सम्झौताअनुसार उनीहरूलाई अस्पतालले पालनपोषण पनि गर्दै आएको छ । दम्पतीले दिएको जग्गा अहिलेसम्म उनीहरूकै नाममा छ । अस्पतालले आफ्नो नाममा लालपुर्जा बनाउने कि, बेचेर रकम जम्मा गर्ने भन्ने विचाराधीन रहेको र छिट्टै टुंगो लाग्ने प्रमुख लामिछानेले बताए ।
६७ वर्षीया शान्ता खाना पकाउने, कपडा धुनेलगायत घरायसी काम गर्छिन् । उनलाई युरिक एसिड र थाइराइड भएको छ । अरू रोग छैन । ७३ वर्षीय रेवतीरमणलाई उच्च रक्तचाप छ । नियमित औषधि खानुपर्छ । कान अलि कम सुन्छन् । दम्पतीलाई खाने, बस्ने र उपचारको व्यवस्था अस्पतालले गर्दैै आएको छ । अलि जटिल बिरामी परेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षेत्रीय अस्पतालमा उपचार गर्ने सहमति पनि छ । १५ शय्याको अस्पतालमा बहिरंग, अन्तरंग, २४ सै घण्टा आकस्मिक सेवामा विभिन्न रोगको उपचार गर्दै आएको छ । दम्पतीले आफूहरू जन्मेको ठाउँ छाडेर बाहिर जान नपरेको बताए । ‘अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा दिइरहे त्यही हाम्रो योगदानको सम्मान हुने थियो,’ दम्पतीले भने ।

कान्तिपुर

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com